१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओली सरकार निरंकुश ढंगले चल्यो : सभापति आचार्य



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।

नेपाली कांग्रेस कपिलवस्तुका सभापति तथा पूर्व सिँचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले नेपालीहरुको दुखमा महलम लगाउने पार्टी कांग्रेस मात्र भएको बताउनुभएको छ । नेपाली कांग्रेस र पार्टीसंग आस्था राख्ने जुनसुकै भातृसंगठनहरुले पनि जनतालाई दुख पर्दा मलहम लगाउने गरेको भन्दै जनताको दुख बुझ्ने पार्टी कांग्रेस मात्र भएको बताउनुभयो ।
नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पसको आयोजना तथा तरुण दल कपिलवस्तुको संयोजनमा आज भएको नेपाल विद्यार्थी संघ न्यानो कपडा वितरण अभियान २०७५ एवम् सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले सो कुरा बताउनुभएको हो ।
विद्यार्थीको काम केवल पढ्ने र लेख्ने मात्र नभई सामाजिक र मानवीय उत्तरदायित्व पनि भएकाले उहाँले नगरका विपन्न व्यक्तिलाई न्यानो कपडा वितरण गरेर नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पसले मानवीय काम गरेको भन्दै प्रसंसा गर्नुभयो । यति मात्र नभएर नेपाल भरीका विपन्न परिवारलाई बिभिन्न ढंगले कांग्रेसले सहयोग गरेको कारण नेपाली जनताले कांग्रेसलाई रुचाएको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा उहाँले वर्तमान केपी शर्मा ओली सरकार निरंकुश ढंगल अघि बढेको भन्दै सच्चिन आग्रह गर्नुभयो । बामपन्थीको सरकारले मुलुकमा महंगी र भ्रष्टाचार मात्र बढाएको भन्दै कांग्रेसले यसलाई ब्यापक रुपमा जनतामाझ पुर्याउनु पर्ने उहाँले औल्याउनुभयो । वर्तमान सरकारविरुद्ध कांग्रेसले छायाँ सरकार बनाएर लाग्ने भन्दै त्यसको लागि तयार रहन नेता कार्यकतालाई उहाँले आग्रह गर्नुभयो ।
निर्मला हत्या काण्डका दोषीलाई कारबाही गर्न नसक्नु, गोविन्द केसीको मागलाई लत्याउनु, जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गर्नु वर्तमान सरकारका तानशाही कदम भएकाले यसको कांग्रेसले डटेर सामना गर्ने उहाँले बताउनुभयो । प्रमुख अतिथि आचार्यले नेविसंघको सम्पर्क कार्यालयको रिवन काटेर उद्घाटन गर्नुभयो । सम्पर्क कार्यालयको स्थापनापछि पार्टीका गतिविधलाई थप सशक्त ढंगले संचालन हुनेमा आफू आशाबादी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष तारावती चौधरी, बाणगंगाा नगरका नगरप्रमुख मंगल प्रसाद थारु, नेपाली काग्रेश महासमिति सदस्य दुर्गा बहादुर सेन, हरिराज घिमिरे, तरुण दलका अध्यक्ष शक्ति सिँह ठकुरी, ट्«क व्यावसायी समितिका अध्यक्ष बिष्णु न्यौपाने, नगर सभापति विष्णु थापा, छविलाल नेपाली लगायतले बोल्नु भएको थियो ।
यसैबीच कार्यक्रमकै अवसरमा तरुण दल र नेपाल विद्यार्थी संघले नगरभित्र रहेका ७० भन्दा बढी विपन्न परिवारलाई सिरक वितरण गरेको छ । प्रत्येक वडाबाट विपन्न परिवार छनोट गरेर प्रत्येक परिवारको लागि एक वटाको दरले करिब १ लाख बढीको सिरक वितरण गरिएको थियो । सिरक पाएपछि उनीहरु खुसी भएका छन् । पढ्ने विद्यार्थीहरुले गरेको सहयोगलाई आफूहरुले कहिल्यै नबिर्सिने उनीहरुले बताए ।
सिद्धार्थ क्याम्पस इकाई सभापति बुद्धि रोकाको अध्यक्षता, पार्टी सभापति आचार्यको प्रमुख आतिथ्य, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सचिव गोविन्द आचार्यले गर्नुभएको थियो । नेविसंघले यस अघि पनि विद्यार्थीको अक्षय कोष स्थापना, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ती वितरण, विपन्न परिवारलाई नगद तथा लत्ताकपडा वितरण गरिसकेको छ ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  १२ : ३८ बजे