४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

हिउँदे नगरसभा गर्ने बुद्धभूमि कपिलवस्तु कै पहिलो स्थानीय तह



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको चौथो नगरसभाबाट विभिन्न कार्यविधि, नीति तथा निर्देशिका सर्वसम्मतले पारित भएका छन । नगरपालिकाको गोरुसिंगेमा भएको चौथो नगरसभाबाट विपत व्यवस्थापन तथा कोष सञ्चालन कार्यविधि २०७५, आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७५, अपाङ्ग परिचय वितरण सम्बन्धि कार्यविधि २०७५ सर्वसम्मत रुपमा पारित भएका हुन । यस्तै नगरसभाले तेस्रो नगरसभाबाट पारित आर्थिक ऐनलाई संशोधन गर्दै केही थप गरेको छ । आर्थिक ऐनमा समावेश केही सेवा दुस्तुरलाई जनताको माग अनुसार संशोधन गरिएको हो ।
कपिलवस्तुका १० स्थानीय तह मध्ये सबैभन्दा पहिला हिउँदे नगरसभा सम्पन्न गर्न सफल बुद्धभूमि नगरपालिकाको नगरसभाबाट जनप्रतिनिधिहरुले चालु आव २०७५÷०७६ मा पारित भएका बजेटलाई समयवधि भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन । स्थानीय सरकार सञ्चालन गर्नका लागि बनाउनुपर्ने सबै ऐन तथा नियमावली बुद्धभूमि नगरपालिकाले बनाई सकेको छ ।
विशेष गरी हिउँदे सभालाई कानुन बनाउने सभाको रुपमा लिइन्छ । तर, बुद्धभूमि नगरपालिकाले सबै कानुनहरु निर्माण गरी सञ्चालन गरिरहेको छ । नगरसभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएका सबै विषयहरु सर्वसम्मत रुपमा पारित भएका छन ।
नगर प्रमुख श्रेष्ठले नगरसभामा चालु आवको साउन महिना देखि माघ १७ गते सम्म कार्यपालिकाले गरेका विभिन्न निर्णय अनुमोदन गराउनका लागि नगरसभामा पेश गर्नुभएको थियो । यी सबै निर्णयहरुलाई नगरसभा सदस्यहरुले तालि बजाई पारित गर्नुभएको छ ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  १२ : ४८ बजे