१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

प्रदेश ५ का १३ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, कपिलवस्तु बुद्धभूमिको केन्द्र कहाँ होला ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
देशका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिल्लाका स्थानीय तहको नाम र केन्द्र सार्ने निर्णय गरेको हो । जस अन्तर्रगत प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँ, नगरसभा र प्रदेशमार्फत सिफारिस भएबमोजिम स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश ५ अन्तर्रगत गुल्मीको छत्रकोट गाउँपालिकाको केन्द्र पल्लीकोटबाट हर्दिनेटाको चोएगा, धुर्कोट गाउँपालिकाको केन्द्र जैसीथोकबाट बर्बोट, रूपन्देहीको कञ्चन गाउँपालिकाको केन्द्र गजेडीबाट व्यहोरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको केन्द्र बुडढीबाट हनुमानचोक र अर्घाखाँचीको पाणिनी गाउँपालिकाको केन्द्र खिदिमबाट दुर्गाफाँट कायम गरिएको छ ।
रोल्पाको दुईखोली गाउँपालिकाको नाम परिवर्तन र केन्द्र राङकोटबाट पुत्लाचौर बनाइएको छ । रोल्पाकै सुवर्णावती गाउँपालिकाको नाम सुनिल स्मृति र केन्द्र सुवर्णावती तथा सुकिदह गाउँपालिकाको नाम गंगादेव र केन्द्र जिनाबाङबाट सानाडाँडा कायम गरिएको छ ।
रुकुम पूर्वको भूमे गाउँपालिकाको केन्द्र मोराबाङबाट खाबाङ बगर तथा पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र कोलबाट तकसेरा र्पुयाइएको छ । दाङको बबई गाउँपालिकाको केन्द्र हंसपुरबाट हापुरे, बाँकेको बैजनाथ गाउँपालिकाको केन्द्र वनकटवाबाट रामपुर, राप्ती सोनारी गाउँपालिकाको केन्द्र कचनापुरबाट अगैया सारिएको छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको केन्द्र मुरुबाट सिम्रुतु खारानेटा, सल्यानको कुमाखमालिका गाउँपालिकाको नाम कुमाख तथा केन्द्र मर्मपारिकाँडाबाट रागेचौर र त्रिवेणीको बीचमा कायम गरिएको छ । सल्यानकै ढोरचौर गाउँपालिकाको नाम सिद्ध कुमाख र केन्द्र सिद्धेश्वरीबाट ढोरचौर तथा दार्मा गाउँपालिकाको केन्द्र फारुलाचौरमा राखिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५ बिहिबार ००:००  ४ : ४० बजे