१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

डेंगु रोग नियन्त्रणका लागि सरसफाईमा ध्यान दिऔंः नगर प्रमुख श्रेष्ठ



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले डेंगु रोग नियन्त्रण अभियान थालेको छ । जस अन्तर्रगत बुधबार विहान नगरपालिकाको वडा नं. २ गोरुसिंगेमा सरसफाई अभियान गरिने भएको छ । अभियानको पूर्वसन्ध्यामा मंगलबार गोरुसिंगेमा सरोकारवालाहरुलाई डेंगु रोग नियन्त्रणका लागि अभिमूखीकरण दिइएको छ ।

अभिमूखीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले डेंगु रोग नियन्त्रणका लागि सबैले सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो । लामखुट्टेको टोकाईबाट रोग लाग्ने भन्दै नगर प्रमुख श्रेष्ठले आफ्नो घर वरपर सरसफाई गर्न आग्रह गर्नुभयो ।

नगरपालिका सञ्चालित अभियान विहीबार सम्म चल्ने छ । विहीबार वडा नं. ९ को इमिलियामा सरसफाई गर्ने कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेले जानकारी दिनुभयो ।

डेंगु रोग एडिस जातको लामखुट्टेको टोकाईले लाग्ने गर्दछ । गत बर्ष नगरका विभिन्न स्थानमा डेंगु रोग संक्रमित भेटिए पछि नगरपालिकाले यस बर्ष देखि अभियान थालेको हो । मंगलबार भएको अभिमूखीकरण कार्यक्रममा उपप्रमुख मिरा थारु, वडा नं. २ का वडा अध्यक्ष भेषराज खनाल, वडा नं. ९ का वडा अध्यक्ष खिमानन्द न्यौपाने, नगरका सामाजिक विकास अधिकृत हिमलाल विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका कार्यक्रम प्रमुख गोकर्ण अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  १ : ०३ बजे