२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

दार्चुला दुर्घटनाः ज्यान गुमाउने ११ जनाकै भयो सनाखत



दार्चुला ।
दार्चुला-दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३, राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ ।
सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नम्बरको जीप दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दार्चुलाका नौ जना र बैतडीका दुई जना यात्रु छन् ।
सशस्त्र प्रहरी नायव उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीया धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नम्बर २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनकी १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, त्यसै ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।
यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर र्पुयाउन आएका बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो ।
जीप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिस गरिएको छ । उहाँको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले बताउनुभयो ।
चार दिनअघि त्यस क्षेत्रमा पहिरोमा परि एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलङ्गाबाट सात किलोमिटर पर्छ ।
क्षमताभन्दा बढी यात्रु र सामान भएका कारण दुर्घटना भएको हुनसक्ने स्थानीय हिक्मतबहादुर बमले बताउनुभयो । त्यो सडकखण्ड उकालो छ । ’पहिरो आएको कारण सडक सुधार भएको थिएन’, बमले भन्नुभयो, ’रातिको समयमा जीप चलाउँदा दुर्घटना भएको हुनसक्छ ।’ दार्चुला–तिङ्कर सडकमा गएको वर्षदेखि जिल्ला यातायात व्यवस्थापन समितिले राति जीप सञ्चालनमा रोकसमेत लगाएको थियो । विगतमा राताकाठा क्षेत्रमा जीप सञ्चालनमा रोकसमेत लगाइएको हो । साँघुरो बाटो र ट्याक्टरका कारण सडक खाल्डाखुल्डी छन् ।
जीप दुर्घटनाका सबै मृतकहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । अहिले शव परीक्षणको काम भैरहेको छ । अहिले अस्पतालमा आफन्तहरुको भिड लागेको छ । यो वर्षकै ठूलो जीप दुर्घटनाका कारण जिल्ला शोकमा डुबेको छ । आफन्तहरुको अस्पतालमा रुवावासी चलेको छ । पाँच सिट पास भएको जीपमा ११ जना यात्रु बोक्नु र उकालोमा ब्रेकले काम गर्न नसक्दा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ५ : ०२ बजे