२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

वामदेव भन्छन्ः रवीन्द्रको निर्वाचन क्षेत्रबाट चुनाव लड्दिनँ



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले दिवंगत नेता रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने विषयमा आफूलाई विवादित बनाइएको भन्दै खण्डन गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् आज विज्ञप्ती जारी गर्दै नेता गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने रुची राखेको भन्दै चलेको बहसलाई कुप्रचारको संज्ञा दिएका छन्। ‘मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।’ नेता गौतमले भनेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो।’ नेता गौतमले मृत्युको शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको स्पष्ट पारे। उनले आफ्नो इच्छाविपरित पार्टीले अधिकारीको निर्वाचन क्षेत्रबाट चुनाव लडाउने निर्णय गरे पनि आफूलाई मान्य नहुने उल्लेख गरेका छन्। गौतमले अधिकारीको परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन आफ्नो प्रयत्न रहने विज्ञप्तीमा प्रष्ट पारेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा प्रत्यक्ष निर्वाचित प्रणाली अन्तर्गत निर्वाचित सदस्यको पद रिक्त भए उपनिर्वाचनद्वारा पूर्ती गर्ने व्यवस्था छ। सत्तारुढ नेकपाका नेता स्वर्गीय अधिकारी प्रतिनिधिसभा चुनावमा कास्की क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित मिति : १८ फाल्गुन २०७५ शनिबार ००:००  ७ : ०४ बजे