३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

नगरको विकासमा अहोरात्र खटेको छुः मेयर केशव कुमार श्रेष्ठ



मायादेवी अनलाइन, कपिलवस्तु । 

बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठले नगरको विकासमा अहोरात्र खटेर जनताको सेवामा कुनै कसुर बाँकी नराखेको बताउनुभएको छ । उहाँले जनताको कुनै पनि काम नरोकेर छिटो छरितो सेवा दिन आफु लागिपरेको बताउनुभएको छ ।

कर्मचारी र जनप्रतिनिधी मिलेर काम नगरेको खण्डमा सेवाग्राहीले छिटो छरितो सेवा नपाउने भएकाले जनप्रतिनिधी र कर्मचारीबीचको सम्बन्धले नगरपालिकाको काम प्रभावकारी हुने बताउनु भएको छ ।

बुद्धभूमि नगरपालिकाको कार्यालयमा बुधबार आयोजित नियमित पत्रकार भेटघाटका क्रममा मेयर श्रेष्ठले नगरपालिकाको समृद्धि र विकासका लागि आफु निरन्तर खटिरहेको र नगरको विकासमा जनप्रतिनिधी र कर्मचारी संगसंगै हुनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाले संचालन गरेका गतिविधीबारे पत्रकारलाई जानकारी गराउदै मेयर श्रेष्ठले नगरको विकासमा अहोरात्र खटिरहदा कर्मचारीको साथ सोचे अनुसार नपाएको समेत अनुभव सुनाउनुभयो । उहाँले कर्मचारीले प्रभावकारी रुपले काम नगर्दा नगरपालिकाकै कार्य सम्पादन प्रति प्रश्न उठेको बताउनुभयो । गतवर्ष सवैभन्दा बढि बुद्धभूमि नगरपालिकाको बेरुजु रकम चार करोड देखिएको प्रति आफु धेरै चिन्तित भएको बताउनुभयो । उहाँले कार्यालयका कर्मचारीको कमजोरीका कारण उक्त बेरुजु रकम बढि देखिएको जानकारी दिनुभयो ।

जस अन्तरगत गत असार मसान्तमा सामाजिक सुरक्षा भत्ताको २ करोड ६२ लाख वितरण गरेको रकम कर्मचारीले फरफारक नगर्दा पेश्की बेरुजु देखिएको स्पष्ट पार्नुभयो । सामाजिक सुरक्षा भत्ता लगाएका शिर्षकमा रहेको पेश्की बेरुजू रकम समयमै फश्र्यौट नगर्दा र अन्य केहीको कागजात चुस्त दुरुस्त नराख्दा समस्या भएको बताउनुभयो । उहाँले नगरपालिकाको बेरुजु विवरणबारे तत्काल चासो राखेर अध्ययन गर्दा कर्मचारीले लगेको पेश्की रकमको समयमै फश्र्यौट नगर्दा प्रकृयागत बेरुजु रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै पत्रकार भेटघाटका क्रममा नगरपालिकाका उपमेयर संग सहकार्य गरेरै नगरका गतिविधी संचालन गरिरहेको जानकारी दिनुभयो । उपमेयर मिरा थारुले नगरपालिकाका गतिविधी बारेमा स्थानीय संचार माध्यममा बोलेका कुरा निराधार रहेको मेयरले स्पष्ट पार्नुभयो । प्रमुख तथा उपप्रमुखको काम, कर्तब्य र अधिकार स्पष्ट रहेको उल्लेख गर्दै निति, नियम निर्देशिका र कार्यविधि बनाएर नगरपालिकाले काम गरिरहेको बताउदै नगरका सवै गतिविधी पारदर्शी बनाउन आफु लागेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख तथा वडा अध्यक्षहरुले संचारकर्मीलाई सत्य तथ्य बुझेर जनताको माझमा सही सूचना प्रवाह गर्नुपर्ने समेत सुझाव दिएका छन् । उहाले कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीमा ई-हाजिरी, डिजिटल वडापत्र, पूर्ण साक्षर, खुला दिसा मुक्त घोषणा, विद्यालयमा शिक्षक लगाएतको व्यवस्थापन सहयोग, पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापनमा उल्लेखनीय काम भैरहेको बताउनुभयोे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  १ : ३७ बजे