३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

सितगंगामा अधिकृत तहका कर्मचारी र शहिदका परिवार सम्मानित



बिष्णु कुमार आले, अर्घाखाँची । 

अर्घाखाँचीको सितगंगा नगरपालिकाले एक कार्यक्रमका बीच नगर भित्र जन्मिएर देशका बिभिन्न ठाउँमा अधिकृत तथा माथिल्लो तहमा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको आयोजनामा नगर भित्रका १ सय १२ जना नेपालको बिभिन्न क्षेत्रमा रहेर बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको हो ।

त्यसै गरी द्धन्दको बेला राज्यपक्ष तथा बिद्रोही पक्षबाट मारिएका ४५ जना सहिदका परिवारलाई पनि सम्मान गरिएको छ । नगर भित्र बिभिन्न कार्यालय भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र ज्योति भविश्वर बहुमुखी क्याम्पस भवन निर्माणका लागि १ करोड ३० लाख बराबरको जग्गा निशुल्क क्याम्पसको नाममा रजिष्टेसन पास गरिदिने सितगंगा ३ निवासी स्वर्गीय भबिश्वर पौडेलका छोरा शिव, नारायण, कृष्ण र गणेश पौडेल परिवारलाई फुलमाला अविर, मायाको चिनो र कदरपत्रले सम्मान गरिएको हो ।

सामाजिक क्षेत्रमा उल्लेख्निय काम गरेका नगरबासी ब्यक्तित्वहरु, माध्यमिक तहमा अध्यापन गर्दै आउनु भएका शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले प्रयाप्त कर्मचारी नहुँदा काम गर्न कठिन भएको बताए ।

आफुले राम्रै काम गर्दा पनि बिभिन्न आलोचनात्मक रुपमा टिकाटिप्पणी हुँदा दुःख लाग्ने गरेको भन्दै अधिकारीले घोषणा नगरे पनि आफुले पाउने २ बर्षको पारिश्रमिक सामाजिक क्षेत्रमा खर्च गरेको बताए । अधिकारीले जल, जंगल, जमिन र जडिबुटीलाई ब्यवस्थापन गर्न सकेको खण्डमा नगरमा आम्दानीको मुख्य श्रोत हुने भन्दै त्यसको निति कानुन नबन्दा समस्या भएको बताए ।

अधिकारीले नेपालकै ठुलो नगरपालिका सितगंगा आफैमा भौगोलिक रुपमा कठिन छ तर झन्डै मेरो दुई बर्षको अवधीमा कल्पना भन्दा बढि बिकास भएको बताए । अधिकारीले भने, ‘नगरको एउटा वडाबाट अर्को वडामा जान ३ ,४ घण्टा समय लाग्छ, ईन्धनमा पनि उत्तिकै खर्च आउने बताउदै बिकासका योजना लग्यो देखिदैन साबिक सिद्घारा, जलुके र सिमलपानी गाबिसमा छरिएर रहेका बस्तीलाई सोही क्षेत्र वरिपरी खेतीयोग्य जमिनको छनोट गरी एकिकृत बस्ति बसाल्न सम्बन्धित निकायमा नगरबाट पहल गरिने छ ।’

उपप्रमुख टिका रेश्मीमगरले अब खुद्रा योजनामा बजेट छुट्टाउन बन्द गरिने भन्दै चुरे संरक्षणबाट ५ नं प्रदेशकै गहनाको रुपमा देखिएको धार्मिक तथा पर्यटकीय स्थल ठाडा डमरुदहको संरक्षण र बिकासका लागी रु १५ लाख छुट्टिएको भन्दै लगत्तै काम सुरुहुने बताए ।

कार्यक्रमलाई संबोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले परिर्वतन आफु बाट सुरु गर्नु पर्ने भन्दै सामुयीक रुपमा फलफुल तथा तरकारी खेती गर्न जोड दिनुपर्ने बताए ।

उनले सितगंगालाई कागतीको पकेट क्षेत्र बनाई खेती गर्न सुझाव दिदै नगरको प्रत्येक वडामा हेली प्याड निर्माण गर्न आवश्यक भएको बताए । त्यस्तै नेपाली काग्रेसका जिल्ला कार्य समिती सदस्य केसव कुमार सिङ बेल्बासेले बजेट बितरणमुखी क्षेत्रमा होईन,उत्पादन क्षेत्रमा खर्च गर्नु पर्ने भन्दै नगर भित्रका खेलाडीको बिकासमा लगानी गर्न सुझाव दिए ।

त्यसै गरी नेकपाका नगर संयोजक बसन्त कुमार श्रेष्ठले सर्वप्रथम शहिदका परिवारलाई रोजगारको ब्यवस्था हुनु पर्ने बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले नगरमा बिकाशका लागी आउने रकम पारदर्शीरुपमा खर्च गर्न तथा रकम खुद्रा रुपमा नछर्न पनि सुझाएका थिए । उनिहरुले नगरमा प्रत्यक्ष रुपमा देखिने गरि बिकास गर्न जोड दिदै जिल्लाको मुल ढोकामा अवस्थित ठाडा डमरुदहको बिकास गर्न जोड दिए । ६ नम्बर वडा अध्यक्ष रिषी रेश्मीमगरले यातायातको सुबिधा जङगल मुखी नभएर गाँउ मुखी हुनु पर्ने बताए ।

उनले जंगलबाट सडक लैजाने योजना प्रति आपत्ती जनाउदै गाउँलाई समेटेर सडक खोल्नु पर्ने बताए । कार्यक्रममा ज्योति भबिश्वर बहुमुखी क्याम्पस प्रमुख बिष्णु प्रसाद भट्टराईले नगरमा दिगो बिकासका योजना ल्याउनु पर्ने बताए । भट्टराईले आफ्नो क्षेत्रको बिकास आफैले गर्नु पर्ने बताउदै नगर बिकासमा आ–आफ्नो क्षेत्रबाट भुमिका निभाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उपसचिव नरेन्द्र बेल्बासे, टिकाराम शर्मा ,प्राध्यापक गणेस पाण्डे,शाखा अधिकृत चोपलाल बेल्बासे, बसन्त अधिकारी, माध्यमिक तहबाट गिरी बहादुर थापा, शंकर अर्याल लयायतले बोल्नु भएको थियो । कार्यक्रम नगर शिक्षा शाखा प्रमुख माधव प्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  २ : ५२ बजे