३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मायादेवीको तेस्रो गाउँ सभा सकियो, विभिन्न कानुनी पारित



दिलिप कुमार यादव, कपिलवस्तु ।

कपिलवस्तुको मायादेवी गाउँपालिकाले तेस्रो गाउँ सभा सम्पन्न गरेको छ । चैत्र २ र ३ गते सम्म चलेको गाउँसभाले विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले जानकारी दिनुभएको छ । शनिवार र आईतवार बसेको गाउँ सभाले चालु आर्थिक वर्ष २०७५।७६ को योजना शंसोधन तथा अनुमोदन सम्बन्धी विषयमा छलफल गरिएको थियो । वडागत रुपमा दोस्रो गाउँ सभाले स्वीकृत गरेका तर विभिन्न कारणले गर्दा कार्यान्वयन गर्न ढिलाई भएका निर्णयहरु माथि छलफल गरिएको थियो ।

सभामा उपस्थित वडा अध्यक्ष, वडा सदस्यहरुको प्रश्नको जवाफ मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले दिनुभएको थियो । सभामा गाउँपालिकाका आठै वटाका वडा अध्यक्षहरुले आफ्नो वडामा परेको विकास बजेट संशोधन योजना प्रस्तुत गरेका थिए । गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकबाट हाल सम्मको निर्णयबाट पारित भै जारी भएका नियम, कार्यविधि, निर्देशिका माथि छलफाल गरि पारित गरेको छ ।

उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५, स्वंयम सेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५, नगर प्रहरी व्यवस्थापन कार्यविधि २०७५ र स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताउनु भएको छ । गाउँसभामा गाउँपालिका भित्र रहेका शैक्षिक संस्थाहरुको संचालनका लागि अनुमति, थप कक्षा संचालन अनुमति समेत दिने निर्णय गरेको छ ।

शैक्षिक संस्थाहरुमा सामुदायिक विद्यालय, संस्थागत विद्यालय र मदरसाहरुलाई अनुमति दिने निर्णय गरेको ढकालले बताएका छन । थप बजेट, योजना, कार्यक्रमको सम्बन्धमा बजेट संशोधनको विषयमा र अन्य विविध विषयमा छलफल भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष कृष्णनारायण तिवारीले बताउनु भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५ आइतबार ००:००  ३ : ०९ बजे