२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सर्वदलिय प्रतिनिधि प्रश्न गर्छन्, देशमा लोकतन्त्र आयो कर्मचारीको व्यवहार किन फेरिन्न ?



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका सर्वदलिय प्रतिनिधिले कर्मचारीको व्यवहार नफेरिदा लोकतन्त्रको अनूभुति अझै गर्न नसकिएको बताएका छन् । देशका तीन तहको सरकार निर्माण भएर जनप्रतिनिधि आईसक्दा पनि कर्मचारीकै हालीमुहानी चल्ने गरेको भन्दै उनीहरुले गुनासो पोखे । देशमा थुप्रै राजनीतिक परिर्वतन भएपनि कर्मचारीकै कारण राजनीतिक परिवर्तन प्रति जनताको असन्तृष्टि बढेको उनीहरुको तर्क थियो ।
शुक्रबार बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले समसमायिक विषयबस्तु माथि छलफल गर्नका लागि सर्वदलिय प्रतिनिधि, सामाजिक संघसंस्था, उद्योगी, सञ्चारकर्मीलाई आमन्त्रण गर्नुभएको थियो । बेला बेला नगरपालिकाले गर्ने महत्वपूर्ण काममा सर्वदलिय प्रतिनिधि बोलाएर सुझाव, सल्लाह लिने गर्नुभएका नगर प्रमुख श्रेष्ठले शुक्रबार भने अलि फरक विषयलाई छलफलमा प्रवेश गराउनुभयो ।
केही सञ्चार माध्यममा बुद्धभूमि नगरपालिका संगै जोडिएर समाचार प्रकाशन÷प्रशासन भएपछि नगर प्रमुख श्रेष्ठले सर्वललिय प्रतिनिधिलाई प्रष्ट पार्नका लागि बैठक डाक्नुभएको हो । गत आव ०७४÷०७५ मा बुद्धभूमि नगरपालिकामा सबैभन्दा बढी रकम बेरुजु आएपछि विभिन्न टिकाटीप्पणी हुँदै आएको छ । नगरपालिकाले नदीजन्य पदार्थमा लगाएको ठेक्का, उपमेयरले अधिकार क्षेत्रमा गरेका टीप्पणी लगायतका विषयबस्तु अहिले चर्चामा छन् । यी विषयबस्तुलाई सर्वदलिय बैठकमा उहाँले प्रष्ट पार्नका लागि बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा नेकपा, नेपाली कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, मधेसबादी दलबाट नगरका शिर्ष नेता सहभागी थिए भने उद्योगी व्यवसायी, सामाजिक संघ संस्था, सहकारी, बन र सञ्चारकर्मीको पनि उपस्थिती रहेको थियो ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकामा आएको बेरुजु रकमबारे आफुले सञ्चार माध्यममा समाचार आएपछि मात्रै थाहा पाएको भन्दै गुनासो गर्नुभयो । महालेखा परिक्षणले निकालेको प्रतिवेदनमा बुद्धभूमि नगरपालिकामा चार करोड रुपैया बेरुजु भएको देखायो नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “यो कुरा मैले समाचार पढेपछि मात्रै थाहा पाए ।” कर्मचारीको उदासिनताको कारण नगरपालिकामा बेरुजु रकम आएको भन्दै यसमा जनप्रतिनिधिको कुनै संलग्नता नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
बुद्धभत्ता वितरण वापतको रकम वडाले बाँडे पनि बीउ भरपाई नगरपालिकालाई नदिदा झण्डै अढाई करोड रकम बेरुजु देखिएको छ । जुन रकम नियम सम्मत वितरण गरिए पनि समयमा नगरपालिकामा जानकारी हुन आएन । यस्तै शिक्षा, स्वास्थ्य र पशु सेवा कार्यालयमा पनि रकम बेरुजु देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी तलवभत्ताको बेरुजु छ । यस्तै केही रकम ठेकेदारले काम सम्पन्न गरेपनि भ्याट बील नदिदा मलेपले बेरुजु देखाइदिएको छ । सामान्य विषयमा कर्मचारीले ध्यान नदिदा रकम बेरुजु देखिएको भन्दै जनप्रतिनिधिको  कुनै संलग्नता नरहेको नगर प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।
छलफल कार्यक्रममा बोल्दै बामपन्थी नेता लिलामणी पौडेलले बुद्धभूमि जिल्लाका अरु स्थानीय तह भन्दा काम गराईको हिसाबमा अग्रस्थानमा रहेको बताउनुभयो । अहिले नगरमा देखिएको बेरुजुको चर्चा कर्मचारीले सही काम नगर्दाको फल भएको भन्दै जनतामा यस विषयलाई प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो । सबै हिसाबले नगरको विकासमा आफुबाट सक्दो सहयोग हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नयाँ शक्तिका केन्द्रिय नेता विष्णुहरि शर्माले देशमा संविधान जारी भएपनि कानुन गन्जागोल, भद्रगोल भएकोले जनताले चाहेजस्तो विकासको अनूभुति गर्न नपाएको बताउनुभयो । अस्तव्यस्त व्यवस्थाबाट बुद्धभूमिमा सराहनीय काम गर्नु राम्रो कुरा भएको उहाँले बताउनुभयो । बेरुजु रकम बारे कर्मचारी, जनप्रतिनिधी, राजनीतिक दल बीच छलफल हुन आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो ।
नेकपाका नगर कमिटी अध्यक्ष पिताम्बर खनालले कर्मचारीबाटै यस्तो गम्भिर गल्ति हुन नहुने बताउनुभयो । बेरुजु रकममा कर्मचारी दोषि भएको देखिएकोले नगरपालिकाले यस विषयमा सोच्नुपर्नेमा जोड दिनुभयो । “जनताका सामान्य कुरालाई यहाँ दुख दिन खोजिन्छ अध्यक्ष खनालले भन्नुभयो, कर्मचारीले यति ठूलो गल्ति गर्दा के हुन्छ ?” कर्मचारी प्रति आक्रोसित मुन्द्रामा देखिनुभएका उहाँले नगरका कर्मचारीको काम गराई आफुलाई कत्ति पनि चित्त नबुझेको बताउनुभयो । नगरबासीले बेला बेला कर्मचारीको काम गराई प्रति प्रश्न उठाउने गरेको भन्दै यस विषयमा गम्भिर बन्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । केही मिडिया नगरको बदनाम गर्ने मनसायले लागेको हो कि जस्तो आभाष हुने गरेको भन्दै मिडियाले होचुवाका भरमा समाचार प्रशासन, प्रकाशन गर्न नहुने बताउनुभयो ।
नेपाली कांग्रेसका साविक बुद्धबाटिका नगर सभापति हिमलाल न्यौपानेले नगरका कर्मचारीको काम गराईको शैली नफेरिदा सम्म जनताले कुनै सेवा सुविधा नपाउने प्रष्ट पार्नुभयो । गाउँ गाउँमा सिंहदरबार आएपनि कर्मचारीको काम गराई शैली उही पुरानै भएको भन्दै यसमा सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७५ शनिबार ००:००  ३ : १९ बजे