७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

स्वास्थ्य बीमा प्रति सर्वसाधारणको मोह देखिएन



दिपक अनुरागी, कपिलवस्तु ।
गत जेठ १ गते देखि सुरु भएको स्वास्थ्य बीमा प्रति सर्वसाधारणको मोह देखिएको छैन । कपिलवस्तुका १० ओटै स्थानीय तहमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रति सर्वसाधारणको चासो नदेखिएको हो । कार्यक्रम सुरु भएको ९ महिना भैसक्दा विमितको संख्या निकै छ । प्रतिशतको हिसाबले जिल्लाका ४ दशमलव १६ प्रतिशत जनता विमित भएका छन । यो तथ्याङ्क मंसिर महिना सम्मको हो । यी सर्वसाधारणले मंसिर १ गते देखि बीमा गरेवापत सेवा पाउन थालेका छन् । कपिलवस्तुका स्वास्थ्य बीमा दर्ता अधिकारी सुन्दरलाल चौधरीले फाल्गुण महिना सम्मको तथ्याङ्क संकलन भएपनि बीमाकर्ताले अझै तथ्याङ्क कार्यालयमा दिई नसकेको बताउनुभयो । फाल्गुण १ गते देखि सेवा पाउने विमित भएपनि कार्यालयमा तथ्याङ्क आइनसकेको चौधरीले जनाउनुभयो ।
उहाका अनुसार मंसिर १ गते सम्म जिल्लाका २३ हजार ७ सय १२ जनाले मात्र स्वास्थ्य बीमा गरेका छन् । यी मध्ये सबैभन्दा बढी वाणगंगा नगरपालिकाका छन् । वाणगंगामा ५ हजार ९ सय २३ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन । यो संख्या अरु स्थानीय तहको भन्दा बढी हो । यस्तै सबैभन्दा कम बीमा यशोधरा गाउँपालिकामा भएको छ । यशोधरामा १ सय ९४ जनाले मात्र बीमा गरेका छन । जिल्लाभर बीमा गराए वापत ५८ लाख २९ हजार ८ सय ६८ रुपैँया प्रिमियम उठेको छ । यस्तै सरकारले अति गरिबको संख्यामा रहेकाहरुलाई आफै बीमा गराउने गरेको छ । जस मध्ये गरिबी निवारण मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रम कपिलवस्तुलाई ६८ लाख ९७ हजार ९ सय ७५ रुपैयाँ प्रिमियम उपलब्ध गराएको छ । यो रकमबापत जिल्लाका अति गरिबीको सूचिमा रहेकाहरुले स्वास्थ्य उपचार पाउन सक्ने बीमा कार्यालयले जनाएको छ ।
सरकारले गरिब परिवारलाई उपचारमा सहयोग पुगोस भनेर स्वास्थ्य बीमा कार्यक्रम ल्याएको हो । तर, ५ नं. प्रदेशमै सबैभन्दा गरिबको उच्च सूचिमा रहेको कपिलवस्तुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । जिल्लाको वाणगंगा नगरपालिका मानव विकास सुचाङ्ककमा सबैभन्दा अगाडी नै छ । तर, अरु स्थानीय तह पछि छन् । गरिबीको उच्च चपेटोमा रहेको यशोधरा गाउँपालिकामै स्वास्थ्य बीमा गराउनेको संख्या निकै कम छ । अरु स्थानीय तहको अवस्था पनि लगभग उस्तै छ । जिल्लाका राम्रा भनिएका, नगरपालिका घोषणा भैसकेका महेन्द्र राजमार्ग क्षेत्रका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा स्वास्थ्य बीमा गराउनेको संख्या तुलनात्मक रुपमा उच्च देखिएको छ । जिल्लाका दर्ता अधिकारीका अनुसार स्वास्थ्य बीमा प्रतिको बुझाईमा कमी, खुल्ला सिमाना हुँदा भारत उपचार गराउने प्रतिको मोहले सोचे जस्तो उपलब्धी हुनु नसकेको स्विकार गर्छन ।
यता स्वास्थ्य बीमा गराए पनि सरकारी तवरबाट राम्रो स्वास्थ्य उपचार नपाउँदा सर्वसाधारण उत्साहित हुन सकेका छैनन् । कपिलवस्तु वाणगंगा वडा नं. १ का सागर बेल्वासेले स्वास्थ्य संस्थामा सुई न रुई बिना ल्याइएको यो कार्यक्रम प्रभावकारी नभएको बताउँनुहुन्छ । स्वास्थ्य संस्थामा निशुल्क औषधि नपाइने गरेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो । पिपरामा अस्पतालमा बीमा गराईवापत निशुल्क औषधि पाइने गरेपनि सेवा प्रवाह राम्रो नभएको उहाँ बताउँनुहुन्छ । “स्वास्थ्य बीमा कार्यक्रम राम्रो हो तर, पाउने सुविधा सामान्य पनि हुन सकेको छैन्, बेल्वासेले भन्नुभयो, राज्यले सबैभन्दा पहिला स्वास्थ्य संस्थामा प्रयाप्त अपकरण र चिकित्सकको व्यवस्था मिलाउनु प¥यो ।”
बीमा गरेवापत जिल्लाका पाँच स्थानबाट सेवा प्रदान गरिएको छ । जिल्लाका तीन अस्पताल र दुई स्वास्थ्य चौकीबाट बीमा गरेवापत स्वास्थ्य सेवा दिइदै आइएको छ । जिल्लाको पश्चिमी क्षेत्रको शिवराज अस्पताल, सदरमुकाममा रहेको तौलिहवा अस्पताल, वाणगंगामा रहेको पिपरा अस्पतालबाट बीमितले स्वास्थ्य सेवा पाउने छन भने महाराजगञ्ज प्राथमिक उपचार केन्द्र र हरनामपुर प्राथमिक उपचार केन्द्रबाट पनि वीमितले सेवा पाइरहेको स्वास्थ्य बीमा सहजकर्ता बताउँछन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५ मंगलबार ००:००  ३ : २४ बजे