३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

नगरका गाउँ गाउँमा सडक सञ्जालले जोड्दै नगर प्रमुख अधिकारी



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले विकास निमार्ण अन्तरगत नगरपालिकालाई धुलो रहित बनाउन र किसानहरुले उत्पादन गरेको वस्तुहरुलाई सहज रुपमा बजार सम्म पहुँच बढाउन सडक पूर्वाधार विकासमा जोड दिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा १७ किलोमिटर कालोपत्रे, ६२ किलोमिटर वाटो ग्रावेल, ४ किलोमिटर कुलो निमार्ण, ३६ वटा सेलो बोरिङ्ग जडान, १ वटा झलुङ्गे पूल, १ स्थानमा पार्क, खानेपानीका लागि हेन्ड पम्प ३७ वटा जडान गरिएको नगरपालिकाले जनाएको छ । जुन काम सम्पन्न गर्नका लागि कुल ४१ करोड ६१ लाख खर्च भएको नगरपालिकाले जनाएको छ ।

शिवराज नगरपालिकाले विकासमा फड्को मार्दै समृद्ध नगर बनाउन कुनै पनि कसर बाँकी नराखिने शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले जोड दिनुभयो । विकासको पहिलो सुचक नै सडक भएकोले आफ्नो कार्यकालमा प्रत्येक गाँउलाई मूल सडक संग जोड्ने विषय आफ्नो प्रमुख प्राथमिकता भएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

नगरपालिकाको आउँदो आर्थिक वर्ष ०७५÷०७६ मा १५ किलोमिटर कालोपत्रे बाटोहरुको स्तरउन्नती तथा मर्मत, ३७ किलोमिटर बाटो ग्रावेल गरि नगरपालिकाको प्रत्येक गाउँलाई सडक संग जोड्न १६ किलोमिटर रिङ्ग रोड नदी कटान नियन्त्रण गर्न १ सय २५ मिटर तटबन्धनको काम गर्ने योजना रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । साथै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई सार्थक गर्न खेल स्टेडियम निर्माण कार्य गर्ने योजना ल्याएको छ । जसको लागत ५१ करोड ५७ लाख लाग्ने अनुमान गरिएको छ । आउँदो आवमा विकास निमार्णको काममा कुल ९३ करोड १८ लाख खर्च हुने अनुमान गरिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

शिवराज नगरपालिका महेन्द्रराज मार्ग संग जोडिएको नगरपालिका हो । यसको पूर्वमा बुद्धभूमि नगरपालिका, पश्चिममा विजय नगर गाउँपालिका, उत्तरमा अर्घाखाँची र दाङ्ग जिल्ला र दक्षिणमा कृष्णनगर नगरपालिका र महाराजगंज नगरपालिकाको सिमाना भित्र रहेको शिवराज नगरपालिका २८४.०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

समुन्द्र सतहको ७०० फिट देखि ९५४ फिट सम्मको उचाईमा रहेको छ । शिवराज नगरपालिकामा मुख्यगरि थारु, मुसलमान, ब्राहम्ण, क्षेत्री, कुर्मी, यादव, मगर, कामी, कोरी र पासी समुदायको जातीका व्यक्तिहरुको बसोवास रहेको पाइन्छ वि.स २०६८ सालको जनगणना अनुसार शिवराज नगरपालिकामा कुल जनसंख्या ६६७८१ रहेको छ ।

नगरपालिका लिएको लक्ष्य अनुसारको प्रगती यो वर्ष हासिल गर्न केही प्रावधिक कठिनाइ आएको छ । संघ र प्रदेशले नदि जन्य वस्तुको निकासीमा फरक,फरक मापदण्ड ऐनमा भएका व्यवस्थाले थप अन्यौलताले विकास निर्माणमा समस्या आउने विषयलाई पटक, पटक समिक्षा बैठकमा उठाएको शिवराज नगरपालिकाका इन्जिनियर राजेश कुमार शैनीले बताउनुभयो ।

असोज महिनामा हुनु पर्ने ठेक्का अहिले सम्म नहुदा उपभोक्ता निरासा भएका छन् । नदीजन्य वस्तुको मुख्य श्रोत रहेको सुरही नाका चैत्र महिना बितना लागदा समेत नखुल्दा विकास निमार्णको काम गर्न कठिनाए भएको शिवराज नगरपालिका वडा न. ८ का वासिदा साहिद हुसेन अन्सारीले बताउनुभयो । शिवराज नगरपालिको विकास निमार्णका शिवराज नगरपालिकाको योजना निमार्ण कामको ६० प्रतिशत समझौता भएको योजना शाखाले जानकारी दिएको छ ।
नदि जन्य वस्तुको अभाव हुदाँ बाहिरा वाट ल्याउदा लागत मुल्य बढि भएकोले विकास निर्माणको काम गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष जयफुल्लाह मुसलमानले बताउनुभयो । स्थनिय तहको वस्तुगत अवस्थाको सहि मूल्याङ्कन नहुनु र खोलाको ठेक्का गर्दा बढि मूल्याङ्कन गरि रकम तोक्दा समयमा कुने पनि ठेकेदार कम्पनिले ठेक्का नहालेको सूर्योदय निमार्ण सेवाका प्रोप्राइटर गोपाल खड्काले बताउनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ४ : ०४ बजे