२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

महाकाली मेची यात्रा वाणगंगामा, ‘छुवाछुत र विभेद सामाजिक अपराध’



मायादेवी अनलाइन, वाणगंगा ।

मुलुकमा व्यवस्था बदलिए पनि छुवाछुत र जातिय भेदभावको रुप नबदलिएको सामाजिक अभियान्ताहरुले बताएका छन् । छुवाछुत र जातिय भेदभावविरुद्धको महाकाली मेची पदयात्रा अभियान सोमबार कपिलवस्तुमा आएको सन्दर्भमा आयोजना गरिएको स्वागत र सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

अभियानका संकल्पकर्ता तथा सामाजिक अभियान्ता होमराज आचार्यले मुलुकमा अझै पनि बिभिन्न नामका छुवाछुत र जातिय भेदभाव रहेकाले मुलुकले चाहेजस्तो विकास गर्न नसकेको बताउनु भयो । मुलुकको अधोगति हुनुको मुख्य कारण विभिेद भएको भन्दै यसको अन्त्य गर्नको लागि जागरण सृजना गर्न आफूहरुले अभियान थालेको बताउनु भयो ।

छुवाछुत सामाजिक अन्याय मात्र नभएर ठुलो सामाजिक अपराध भएकाले यसको अन्त्य नहुँदासम्म मुलुकमा सवृद्धि हासिल गर्न नसकिने उहाँको भनाई छ । यो भेदभाव र छुवाछुतको मुद्धा गैर दलित समुदायको मुद्धा भएकाले अब सबै मिलेर यसको अन्त्य लाग्नु पर्नेमा जोड दिँदै आचार्यले २१ औँ शताब्दीमा यस्तो हुनु दुर्भाग्य भएको बताउनु भयो ।

कपिलवस्तुमा आउँदा आफूहरुले न्यानो माया र सद्भाव पाएकोमा खुसी व्यक्त गदै आचार्यले छुवाछुत र भेदभाव गर्नेलाई ३ बर्ष जेल तथा ५० हजार जरिवाना लिने कानुनी व्यवस्था भएकाले सबैलई सतर्क रहन आग्रह गर्नुभयो । जिल्लाको सबैभन्दा शिक्षित बाणगंगाा नगरपालिकालाई छिटै जातिय भेदभाव र छुवाछुतमुक्त नगरपालिका बनाउन उहाँले सबैको ध्यानाकर्षण गर्नुभएको छ ।

अर्का अभियान्ता अशोक दर्नालले मुलुकको संविधानमै विभेद भएकाले यसलाई चाहेर पनि हटाउन नसकिएको बताउनु भयो । मुलुक बनाउने जिम्मा पाएका नेताहरुमा नै छुवाछुत  र विभेदको मसी नसुकेकाले समस्या भएको बताउनु भयो । अभियानकर्मी तथा महिला नेतृ रिता परियारले अझै पनि दुर्गम भेगहरुमा छुवाछुत र भेदभावको कालो रुप जारी रहेको बताउनु भयो ।

विशेष गरी सुदुरपश्चिममा भेदभावकै कारण महिला हिंसाका घटना धेरै हुने आफूहरुले पाएको पनि उहाँले सुनाउनु भयो । दलित अगुवा टिका सुनारको अध्यक्षता, पूर्णचन्द्र परियारको संचालन, घरघरमा शिक्षा तथा आत्म निर्भर विकास संस्थाकी अध्यक्ष थानकला पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी छविलाल नेपाली, दल बहादुर खाती, मिडियाकर्मी चन्द्रकान्त न्यौपाने लगायतले बोल्नु भएको थियो ।

गत फागुन ३ गते महाकालीको चाँदनी दोधारबाट सुरु भएको पदयात्रा सोमबार २२ औँ दिनमा कपिलवस्तुमा आएको थियो । त्यस अवसरमा बिभिन्न संघसंस्थाले फूल,माला तथा अविरले अभियानलाई भव्य स्वागत गरेका थिए । टोली सोमबार नै बुटवल पुगेको छ । करिब ३ महिनामा पदयात्रा सक्ने लक्ष्य रहेको उहाँहरुले बताउनु भयो ।

प्रकाशित मिति : २५ चैत्र २०७५ सोमबार ००:००  १ : ४७ बजे