५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बजेट अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने



काठमाडौँ ।

संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने भएको छ । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति  विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि जाने भएकाले त्यसअघि नै उनले अधिवेशन आह्वान गर्न लागेको संघीय संसद सचिवालयले जनायो । अधिवेशन कम्तिमा एक हप्ता अघि आह्वान हुनुपर्ने व्यवस्था छ ।

संसद सचिवालयले दिएको जानकारी अनुसार वैशाख १६ गते अधिवेशन बोलाउने आह्वान हुने जानकारी पाए पनि औपचारिक शुक्रबारसम्म आएको छैन । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘वैशाख १६ गते अविधेशन आह्वान हुने जानकारी पाएका छौं । तर औपचारिक रुपमा पत्र आइपुगेको छैन । हामी तयारी अवस्थामा छौं ।’

जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संसदको संयुक्त सदनमा अर्थमन्त्री बजेट पेश गर्नुपर्ने भएकाले प्रिबजेट छलफलका लागि एक महिना अघि अधिवेशन बोलाउन लागिएको हो ।

बजेट पेश हुनुअघि संसदमा पूर्वबजेटबारे पर्याप्त छलफल गर्ने परम्परा छ । बजेट अधिवेशन भए पनि आउँदो अधिवेशनमा विधेयक पनि पारित गरिने कानुन मन्त्रालयले जनाएको छ ।

संसदमा विभिन्न चरणमा पुगेका र दर्ता हुने क्रममा रहेका विधेयकलाई अघि बढाइने कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जानकारी दिए । संसदको हिउँदे अधिवेशन चैत १० गते अन्त्य भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ४ : ०८ बजे