४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सहकारीले बनायो स्वरोजगार



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तु वाणगंगाको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका २४ जना सदस्य सफल व्यवसायी बनेका छन् । ४ वर्ष पहिले सहकारीको लगानीबाट सदस्यहरुले व्यवसाय संचालन गरेपछि सफल व्यवसायी बनेका हुन् । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रम अन्तरगत सिद्धार्थ बचत तथा ऋण सहकारीले २४ जनालाई व्यवसाय संचालन गर्न लगानी गरेको थियो ।

सहकारीले उनीहरुलाई गाई तथा भैसी पालन व्यवसाय संचालनमा लगानी गरेपछि उनीहरु सफल व्यवसायी बनेका हुन् । हाल सहकारीमा आवद्ध ती सदस्यले व्यवसायलाई निरन्तरता दिदै आएका छन् । हथौसा, पदमपुर, देउवापार, चेतिया र भक्तौलीका २४ जना सदस्यले गाई भैसी पालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

सहकारीले आ.ब.०७१÷०७२ मा सदस्यलाई सस्तो व्याजमा लगानी लगाएपछि सदस्यहरु कोषको कार्यक्रम तर्फ आकर्षिकत भएका हुन् । एकदेखि २ लाख सम्म १२ प्रतिशतमा गाई तथा भैसी पालन व्यवसाय संचालन गर्न सहकारीले लगानी गरेको थियो । सस्तो व्याजमा रकम पाएपछि सहकारीबाट गाईपालन व्यवसाय संचालन गरेको हथौसाकी सोना यादवले बताइन् ।

त्यस्तै वाणगंगा ३ की रमा पाण्डेले कोषको २ लाख ऋण लगेर भैसीपालन व्यवसाय संचालन गरेकी छिन् । उनले सस्तो व्याजमा सहकारीबाट ऋण लिएर भैसी पालन गरेर सफल व्यवसायी बनेकि हुन् । १२ प्रतिशतमा ऋण लिएकी थिए, उनले भनिन् – भैसी पालेर त्यसको आम्दानीले सहकारीबाट लिएको ऋण सवै चुक्ता गरे ।

सहकारीका व्यवस्थापक हरिलाल शर्माले कोषको रकम सवै चुक्ता गरेपछि बुझाएको व्याजको ६० प्रतिशत रकम सदस्यले फिर्ता पाउने व्यवस्था भएको बताए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १ देखि २ लाख ऋण सहयोग उपलब्ध गराएको उनले बताए ।

उक्त कोषबाट लगानी भई ६० प्रतिशत अनुदान सिफारिस गर्न मिल्ने प्रावधान अनुसार २४ जनालाई रकम वितरण गरिएको व्यवस्थापक शर्माले जानकारी दिए । कोषको लगानीबाट सहकारीले २४ जनालाई ३५ लाख लगानी गरेको थियो । शुरुमा १२ प्रतिशत व्याजमा लगानी गरेपनि सदस्यले समयमै ऋण चुक्तागरेपछि व्याजको ६० प्रतिशत रकम फिर्ता दिएको छ । व्याजमा छुट दिएपछि सदस्यले ४ प्रतिशत व्याजमा मात्र व्यवसाय संचालन गरेको बताए ।

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाकि उपाध्यक्ष इन्दिरा भट्टराईले सहकारीले गरिब विपन्न समुदायलाई विभिन्न आयआर्जनका अवसरहरु सिर्जना गरेको बताइन् । सरल र सस्तो व्याजमा ऋण सहुलिएत पाएपछि सहकारी प्रति सदस्यको आकर्षण बढेको उपाध्यक्ष भट्टराई जानकारी दिइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  ८ : २६ बजे