५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जेठ तेस्रो सातासम्म तातोपानी नाका खुलाउने तयारी



काठमाडौं ।
२०७२ सालको भुइँचालोपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ। चार वर्षदेखि बन्द उक्त नाका जेठ तेस्रो सातासम्ममा खुलाउने भनिएको छ।
बन्द नाका तोकिएको समयमै खुलाउन र त्यसै अनुसार काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए। त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतले स्थलगत निरीक्षण गरी चाँडै काम सक्न सम्बन्धित सचिवलाई निर्देशन दिएका थिए।
त्यही निर्देशन अनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डका सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

बाह्रबिसे नगरपालिकास्थित बसेरीदेखि सीमा पुलसम्मको सडक चिनियाँ पक्षले मर्मत सम्पन्न गरिसकेको छ। सीमा पुलको काम आउँदो एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ चौबिसैँ घण्टा मजदूर खटिएर काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।
लार्चामा निर्माण भएको अत्याधुनिक सुख्खा बन्दरगाहको छिटफुटबाहेक सबै काम सम्पन्न भइसकेको छ। बुधवार हस्तान्तरण गर्ने योजना भएपनि छिटफुट काम बाँकी रहेकाले एक महिनापछि सरेको हो।
बाह्रबिसेदेखि बसेरी सडकमा पर्ने जग्गा दुई किलोमिटर भाग मात्र ग्राभेल गरिएको उक्त साइट हेर्ने सडक डिभिजन कार्यालय दोलखाका इञ्जिनीयर प्रदीप निरौलाले बताए।
गत वर्षको बर्खामा बाढीले बगाएको बाह्रबिसेको खुर्सानीबारीस्थित साँदी खोलाको पक्की पुलको ठाउँमा आगामी सातामा बेलिब्रिज जडान गरिने भएको छ। पक्की पुल निर्माणका लागि आवश्यक बजेट माग गरिए पनि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा बजेट निकासा नदिएकाले विकल्पको रुपमा बेलिब्रिज राख्नुपरेको इञ्जिनीयर निरौलाले बताए। रासस

प्रकाशित मिति : १८ बैशाख २०७६ बुधबार ००:००  २ : ३४ बजे