५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आज १५ खर्ब बराबरको बजेट आउँदै, कस्तो होला ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
आगामी आर्थिक वर्षको बजेट सरकारले बुधबार सङ्घीय संसदमा पेश गर्दैछ । संघीय संसदको दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६–७७ को बजेट पेश गर्नेछन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । करिब १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको छ ।
चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढि व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको जनाइएको छ ।
चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालुतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख विनियोजन गरिएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६ बुधबार ००:००  ८ : ५८ बजे