४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

वडा नं. २ देशकै नमुना वडा, जहाँका जनताले यस बर्ष ८० लाख उठाएर विकास गरे



मायादेवी अनलाइन, बाणगंगा ।
बाणगंगा नगरपालिकाको वडा नम्बर २ मा चालु आर्थिक बर्षमा ८ करोडका योजना सम्पन्न हुने भएका छन् । केन्द्र, प्रदेश तथा स्थानीय सरकारको योजना अन्तर्गत चालु आर्थिक बर्षमा ८ करोड बढीका योजना सम्पन्न हुन लागेको वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो । वडा नम्बर २ को आयोजना र मायादेवी मिडिया ग्रुपको प्राविधिक सहयोगमा वडा कार्यालय पिपरामा सम्पन्न भएको सार्वजनिक सुनुवाइमा बर्षभरी वडाले गरिरहेका योजनाको बारेमा बताउदै वडाध्यक्ष पौडेलले कृषि, शिक्षा, स्वास्थ्य, विकास निर्माण, सिपमूलक तालिम लगायतमा यसबर्ष ८ करोड बढी लगानी भैसकेको जानकारी दिनुभयो । योजनाहरुमध्ये सडक र शिक्षा प्राथमिकतामा रहेका छन् ।
वडाले तय गरेका २६ योजनामध्ये अहिले २३ योजना सम्पन्न भइसकेको र बाँकी ३ योजनाको काम पनि छिट्टै समपन्न हुने पौडेलको भनाई छ । आफू नगरपालिकाको प्रबक्ता समेत रहेको हुनाले वडा नम्बर २ संग जनताका धेरै अपेक्षा रहेको हुँदा आफुले विकासको लागि कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।
वडाध्यक्ष पौडेलले भन्नुभयो–“चालु आर्थिक बर्षको लागि योजनामा परेका सडकको निर्माण, विस्तार र स्तरोन्नतीको काम भइरहेको छ । ती काम पनि अब चाँडै सकिन्छन् । नदीजन्य पदार्थको निकासी समयमा नहुँदा अलिकति ढिलाई भएको थियो । अहिले धमाधम काम भइरहेको छ ।” लखनपारा लगातका केही स्थानमा अब सडक निर्माणले गति लिने बताउँदै उहाँले बिजुली, खानेपानी लगायतको समस्या पनि छिट्टै समाधान हुने बताउनु भयो । यस्तै डिप बोरिङ लगायतका आयोजना सम्पन्न गर्न प्रदेश सरकारबाट बजेट आएको जानकारी गराउँदै उहाँले सिँचाइको असुविधा पनि चाँडै हल हुने बताउनु भयो ।
वडाध्यक्ष पौडेलले वडा नम्बर २ विकास निर्माणसंगै नगरकै शैक्षिक हब भएको बताउनु भयो । पिपरामा रहेको जनतामा मावि मन्त्रीपरिषद्को निर्णयबाट मलुककै उत्कृष्ट १६ भित्र पर्न सफल हुनु वडाको गौरव रहेकाले यसको लागि पनि प्रदेश सरकारबाट ६० लाख बजेट आएको जानकारी गराउनु भयो । यस्तै पञ्च आधारभूत विद्यालय वैजलपुर, संस्थागत विद्यालय तर्फ ज्ञानपुञ्ज, हिलवर्ट स्कुल र गुरुकुलतर्फ मनकामना संस्कृत विद्यापीठ नन्दनगर पनि वडाका शैक्षिक गौरव रहेको बताउनु भयो । यस्तै वडामा कृषि र पशुपालनमा पनि राम्रो काम भइरहेको उहाँको भनाई छ । गत वर्ष विकास निर्माणमा ७१ लाख र यस वर्ष पनि ८० लाख वडाबासीको लागत सहभागिता रहनु जिल्लामा मात्र नभएर प्रदेशमा नै नमुना भएको भन्दै अध्यक्ष पौडेलले सबैलाई धन्यबाद दिनुभयो ।
पौडेलको अध्यक्षता, मायादेवी मिडिया ग्रुपका निर्देशक दिपक अनुरागीको संचालन, ग्रुपका बाबुराम रायमाझीको स्वागत मन्तव्यमा सम्पन्न सार्वजनिक सुनुवाइमा गु्रपका अध्यक्ष हरि अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । यस्तै वडा र वडा कार्यलयमा संकलन गरिएको नागरिक सुझाव र बहिर्गमन अभिमत बारे रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडाबासीले पिपरा अस्पतालको ढिलासुस्ती सेवा, औषधी अभाव, विद्युतको लापरवाही, लो भोल्टेज, युवा विद्यार्थी लागु औषधका लागेको, अटोरिक्साको मनपरी भाडा लगायतमा समस्यामा राखेका थिए । नागरिकका सवालमाथि वडाध्यक्ष पौडेल, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयूष कुमार जोशी, बाणगंगा नगरका शिक्षा अधिकृत खिम बहादुर जिसी, पिपरा सामुदायिक अस्पतालका प्रमुख लगायतले जवाफ दिएका थिए ।
शिक्षा शाखाका जिसीले आर्थिक बर्षमा बाणगंगा नगरको शिक्षा विकासको लागि बजेटमा कुनै कन्जुस्याँई नगरिने बताउनुभयो । उहाँले अब नगरका सबै शैक्षिक संस्थामा अतिरिक्त क्रियाकलाप र परीक्षा लगायतका गतिविधिमा पनि एउटै मापदण्ड बनेको बताउनुभयो । नगरको नियमलाई नमानेर आफू अनुकुल चल्ने विद्यालयलाई भने नगरपालिकाले हेर्ने दृष्टिकोण फरक हुने उहाँको भनाई छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १० : १७ बजे