५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई एक करोड ८४ लाख बजेट



पाल्पा ।
जिल्लाको रिब्दीकोट गाउँपालिका र रम्भा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन। यद्यपि प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ।
जिल्ला भरीको पछिल्लो आवेदनको संख्या सात हजारभन्दा बढी रहेको पाइएको छ। तर काम गर्न इच्छुक युवाको संख्या भने जेनतेन दुइहजार पुग्न कठिन देखिएको छ।
रिब्दीकोट गाउँपालिकामा केन्द्रीय सरकारबाट प्राप्त बजेट अनुसार ६३ जना युवाले काम गर्न थालेका छन्। तर गाउँपालिकाले छुट्टै पाँच लाख बजेट विनियोजन गरेर थप ४७ जना गरी एकसय १० जना युवालाई रोजगार दिएको छ।
युवाले शनिबारदेखि काम गर्न थालेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए। उनका अनुसार केन्द्र सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १४ लाख बजेट प्राप्त भएको छ। यस्तै रम्भा गाउँपालिकाले ९० जना युवालाई रोजगार दिने लक्ष्यक साथ प्रधानमन्त्री रोजगार कार्यक्रम शुक्रबारदेखि संचालन गरेको छ।
अहिले २० जना युवाले काम गर्न थालिसकेका छन् गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले भने बाँकी ६० जना युवालेपनि केही दिनमै काम गर्न सुरु गर्नेछन्। रम्भा गाउँपालिकालाई यो कार्यक्रमअन्तर्गत १४ लाख बजेट प्राप्त भएको उनले बताए। सबैभन्दा धेरै बजेट प्राप्त भएको तानसेन नगरपालिकामा पनि कामदार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। ४२ लाख बजेट अन्तर्गत रहेर १८५ जना युवालाई रोजगार दिने लक्ष्य राखिएको प्रमुख अशोक कुमार शाहीले बताए।
यस्तै रामपुर नगरपालिकामा २५ लाख बजेट प्राप्त भएको छ। करिब १०० जना युवालाई रोजगार दिइने नगरप्रमुख रमणबहादुर थापाले बताए। उनका अनुसार आगामी असार एकगतेदेखि प्रधामन्त्री रोजगार कार्यक्रमअन्तर्गत यहाँका युवाले काम गर्नेछन्। प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १६ लाख प्राप्त भएको बगनासकाली गाउँपालिकामा कामदार छनोट प्रक्रिया थालिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए। उनका अनुसार असार पहिलो साताबाट यो कार्यक्रम संचालन हुनेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६ आइतबार ००:००  ७ : १४ बजे