१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

शम्भु राई र प्रकाश सपूतबीच यसरी मिल्यो सहमति



काठमाडौं ।
प्रकाश सपूतले ल्याएको गलबन्दी च्यातियो तिम्ले तानेर… गीतको भाका आफ्नो गीतबाट चोरेको आरोप गायक शम्भु राईले लगाएपछिको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । दुई पक्षबीच प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा बुधबार दिउँसो ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी प्रस्तोता समाज नेपालका अध्यक्ष तथा गायक भीषण मुकारुङले जानकारी दिए। सहमति अनुसार शम्भु राईको ‘देउसी भैलो’ गीतमा रहेको ‘आऊ नाचौ साथी हो कम्मर कसेर, दुई दिनको जिन्दगी बिताऊँ हाँसेर’, लयमा प्रकाश सपुतको गलबन्दी बोलको गीतको ‘गलबन्धी÷पछ्यौरी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर’, भन्ने अंशका लय मिल्न गएको निचोड निकालिएको छ । ‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी यु ट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गर्ने’, दुवैले गरेको सहमतिको पहिलो बुँदामा भनिएको छ। सहमतिपत्रको दोस्रो बुँदामा गलबन्दी गीतको हालसम्म युट्युबसहितका विभिन्न माध्यमबाट प्राप्तको सम्पूर्ण आम्दानीमा प्रकाश सपुतकै पूरा अधिकार हुने उल्लेख छ । यसमा शम्भु राई कुनै दाबी गर्न नपाउने पनि सहमतिपत्रमा उल्लेख छ । सहमति अनुसार शम्भु राईले गलबन्दी बोलको गीतलाई लिएर प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा प्रकाश सपुतविरुद्ध असार ५ गते दर्ता गराएको उजुरी पनि फिर्ता लिएका छन्।

प्रकाशित मिति : ११ असार २०७६ बुधबार ००:००  ३ : ४७ बजे