५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दलित समुदायबाट सगरमाथामा पाइला टेक्ने पहिलो महिला रन्पाल, बुद्धभूमिद्धारा अभिनन्दन



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले दलित समुदायबाट सगरमाथामा पहिलो पटक सगरमाथा ओरोहण गरेकी ज्ञानमाला रन्पाललार्ई अभिनन्दन गरेको छ । गोरुसिंगेमा सोमबार राखिएको अभिनन्दन कार्यक्रममा नगरपालिका– २ गोरुसिंगेकी रन्पाललाई खादा, दोसल्ला र कदर पत्रले सम्मानित गरिएको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले रन्पाललाई सम्मानित गरेका थिए । यस अघि ३ दिन अघि आसाम राईफल भूपु शैनिक संघले गोरुसिंगेमा रन्पाललाई सम्मानित गरेको थियो । रन्पालले जेठ ९ गते ३ जना चिनिया यात्रीसंगै सर्वोच्च शिखर सगरमाथामा पाईला टेकेकी थिईन ।
रन्पाल सगरमाथामा ओरोहणका लागि जाने बेलामा नगरपालिकाले आर्थिक सहयोग समेत गरेको थियो । मेयर श्रेष्ठले रन्पालले सगरमाथाको सफल आरोहण गरेर बुद्धको क्रिडास्थल प्राचिन कपिलवस्तुको नाम उचो राखेको बताए । ‘सगरमाथा चढ्नु आफैमा एक साहसिक कार्य र उपलब्धी हो’ उनले भने ‘रन्पालले महिलाहरुले चाहे भने जे पनि गर्न सक्छन भनेर प्रमाणित गरेर देखाएकी छिन्’ ।
सगरमाथाको सफल आरोहण पछि पनि उनको खासै चर्चा भएको थिएन । २ महिना पछि आफ्नो कार्यको सम्मान गरेकोमा रन्पालले खुशी ब्यक्त गरिन् । सो अवसरमा रन्पालले सगरमाथाको आरोहरण गर्न जाने बेलामा आफु बुद्धको क्रिडास्थल कपिलवस्तुबाट आएको भनी परिचय दिएको बताईन ।
६ बर्ष प्रहरी सेवामा कार्य गरेर छाडेकी रन्पालले आफ्नो आत्मबिश्वास, साहस, अभिभावहरुको आर्शिवादले सगरमाथा चढ्न सकेको बताईन । ‘सगरमाथाको सर्वोच्च शिखरमा पाइला राखेपछि मैले बुवाको तस्वीर त्यहाँबाट देखाएको थिए’ उनले त्यति बेलाको खुशीको अनुभव सुनाउदै भनिन् । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत पाध्याले रन्पालले जिल्लाको पहिचान र गरिमा बढाएको बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ७ : ३४ बजे