६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बुद्धभूमिः असोज १ गते सरुवा, १३ गते कार्यालयमा हाजिर, वडाध्यक्षको आपत्ति !



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा असोज १ गते सरुवा भएका कर्मचारी पुनः असोज १२ गते मन्त्रालयको पत्र लिएर आएपछि एक वडा अध्यक्षले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको कार्यकक्षमा तालाबन्दी गर्नुभएको छ । बुद्धभूमि नगरपालिका वडा नं. १ का अध्यक्ष तेज बहादुर बस्नेतले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालावन्दी गर्नुभएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज १ गते मेघनाथ पाध्यालाई रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सरुवा गरेको थियो ।

यता बुद्धभूमि नगरपालिकामा शिवराज नगरपालिकावाट सरुवा तथा रमाना लिएर जानुभएका शेषकान्त पौडेलको सरुवा भई ८ गते नगरपालिकामा हाजिर हुनुभएको थियो । आइतबार अर्थात १२ गते मात्र शेषकान्त पौडेललाई कार्यपालिकाको बैठकले औपचारिक रुपमा स्वागत गरेको थियो ।
सोही दिन १२ गते सरुवा भएर जानुभएका मेघनाथ पाध्याले मन्त्रालयवाट पत्र लिएको जानकारी पाएपछि वडा अध्यक्ष बस्नेतले तालावन्दी गर्नुभएको हो । उहाँको तालाबन्दीको मुख्य माग त्यहाँ केहि दिन अघि सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको पर्सा जिससमा भएको सरुवा बदर हुनुपर्ने रहेको छ ।
पाध्याले सरुवा भएको जानकारी पाएपछि आफु बुद्धभूमि आएको १४ महिना मात्रै भएको भन्दै २ बर्ष बस्न पाउने कानुनी व्यवस्था कसरी उल्लंघन भयो भनेर ध्यानाकर्षण गराउन पाध्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर सरुवा फिर्ता लिएर आउनुभएको छ । यता त्यहा कार्यरत प्रमुख प्रशासकीय अधिकृत पाध्याले अनावश्यक किचलो गरेर तालाबन्दी गरेको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको बताउनुभयो ।

यता वडाध्यक्ष बस्नेतले मन्त्रालयवाट नै सरुवा भएर गएका पाध्या र नयाँ आएका पौडेलको पुन सरुवा हुनु सरकारको लापरवाही भएको बताउनुभयो । ‘हामीले सरुवा, वढुवा गर्ने होइन एक पटक सरुवा भएर गएपछि पहुँच लगाएर किन आउनु पर्यो त्यसैको विरोधमा ताला लगाएको हो उहाँले भन्नुभयो ।’

पाध्या सोमबार कार्यालयमा आएपनि कार्यकक्षमा ताला लगाएपछि एक छिन बाहिर बसेर निस्किएको एक कर्मचारीले बताए । सोमबार नयाँ खाता खोलेर कर्मचारीहरुको तलव खुवाउने योजना थियो एकाएक सरुवा र तालावन्दी भएपछि कर्मचारीको दशै पनि तलव नपाएपछि फितलो हुने बताइएको छ । मेघनाथ पाध्या कपिलवस्तु जिल्लामा एक दशक बढी जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चन्द्रौटा तथा नगरपालिका गरी जिल्लामा बस्दै आउनुभएको छ ।
कैलालीको एक नगरपालिकामा दुई वर्ष पहिले पौडेल सरुवा भएर गएपनि एक महिना नवित्दै पुनः कपिलवस्तु जिल्ला आउनुभएको थियो । सरुवा बढुवा प्रकृया हो जो आउँछ जान्छ त्यसमा कुनै समस्या नभएको र तर मन्त्रालयवाट नै १ गतेको पत्र कार्यालयमा आएको पुन आज थमौती भएको भन्ने सुन्नमा आएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । ताला लगाएको विषयमा फोन मार्फत जानकारी आएको र आफु कार्यालय बाहिर रहेकोले कार्यालय गएर त्यसबारे के कसो भएको हो जानकारी दिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

सच्चाइएको
असोज हुनुपर्नेमा भदौ भएकोले यस अघिको समाचार सच्चाएका छौं ।

प्रकाशित मिति : १३ आश्विन २०७६ सोमबार ००:००  ७ : ५८ बजे