४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

बसले ठक्कर दिदा पूर्व सांसदको ज्यान गयो



धनुषा ।
धनुषाका कम्युनिष्ट नेता तथा पूर्व सांसद रामलखन महतोको सडक दुर्घटनामा परि ज्यान गएको छ ।
शुक्रबार दिउँसो धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–१, धुमासानमा रहेको साथीको घरबाट छिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा रहेको आफ्नो घर साइकलमा आउँदै गर्दा जनकपुर–ढल्केबर सडकखण्डको नक्साझीजमा बसले ठक्कर दिँदा ६५ वर्षीय पूर्व सांसद महतोको ज्यान गएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँलाई ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरले जनाएको छ । उहाँको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर लगिएको छ ।
विक्रम संवत २०५१ सालको मध्यावधि चुनावमा उहाँ तत्कालीन नेकपा एमालेबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित हुनु भएको थियो । उहाँले कांग्रेसका उम्मेदवार तथा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई हराउनु भएको थियो ।
पछि एमाले छाडेर जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका महतो पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा सक्रिय हुनुहुन्थ्यो । उहाँको श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६ शुक्रबार ००:००  ७ : ०२ बजे