२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने, यस्ता छन कार्यक्रम



काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ। पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ। यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना तथा चियापान आयोजना गर्नेछ। सामाजिक जीवनका लब्धप्रतिष्ठित व्यक्ति तथा पार्टी सदस्यहरुको सहभागिताका लागि दश हजार निमन्त्रणा कार्ड वितरण गरिने पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिए। सोही दिन पार्टीको कलासाहित्य विभागले कवि गोष्ठी, ट्रेड युनियन महासङ्घले रक्तदान कार्यक्रम गर्नेछ भने २८ गते सम्पूर्ण भ्रातृ सङ्गठनको संयुक्त आयोजनामा राष्ट्र निर्माणमा शाहको योगदानसम्बन्धी प्रवचन गोष्ठी आयोजना गर्ने जनाइएको छ। राष्ट्र निर्माता शाहको दूरदर्शिता र साहसिक नेतृत्वमा नेपाली जनताको साझा प्रयासबाट वर्तमान नेपालको निर्माण र एकीकरण सम्भव भएकाले हामीले आफूलाई नेपाली हौँ भन्ने पहिचान र गौरव प्राप्त गर्न पाएको हुँदा दिवस मनाउन लागिएको नेता प्रधानले बताए। पार्टीले यही पुस २७ गते सार्वजनिक बिदाको समेत माग गरेको छ।
रासस

प्रकाशित मिति : २१ पुस २०७६ सोमबार ००:००  २ : ०५ बजे