४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

कपिलवस्तुसंगै पूरै तराई हुस्सुले ढाक्यो, पश्चिममा पश्चिमी वायु पस्यो



काठमाडौं ।
यतिबेला देशको पूरै तराई क्षेत्र हुस्सु÷ कुहिरोले ढाकेको छ भने पश्चिमी क्षेत्रमा पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुरु भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूरपश्चिमका उच्च पहाडी भेगका थोरै स्थानमा हल्का वर्षारहिमपात भइरहेको छ ।
‘पश्चिममा पश्चिमी न्यून चापीय प्रणाली हिजो (आइतबार) प्रवेश गरेको हो,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले सोमबार बिहान भने, ‘यो त्यति बलियो छैन, त्यसैले यसपटक यसको प्रभाव पश्चिमी क्षेत्रमा मात्रै सीमित हुने देखिएको छ, मध्य क्षेत्र अर्थात् काठमाडौंसम्म पनि यसको प्रभाव आउने सम्भावना छैन ।’
यो प्रणालीले आज नेपालको सुदूरपश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना रहेको उनले बताए । ‘तर बेलुकीदेखि नै यसको प्रभाव कमजोर भएर जानेछ,’ उनले भने ।
मौसमविद् श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकालगायत मध्य र पूर्वी क्षेत्रको मौसम सामान्यतया सफा नै रहनेछ । धेरै ठाउँमा घाम लाग्ने सम्भावना छ ।
उता तराईको पूरै भूभाग यतिबेला हुस्सु कुहिरोले ढाकेको छ । मौसमविद् श्रेष्ठका अनुसार अहिले तराईका १७ वटै जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । हुस्सु कुहिरोका कारण अत्यधिक चिसो बढेकाले तराईको जनजीवन कष्टकर भएको छ ।
‘चितवन र नवलपुरमा केही कम छ,’ उनले भने, ‘रूपन्देहीदेखि पश्चिममा मध्याह्नदेखि हुस्सु कुहिरो हट्ने सम्भावना छ,’ उनले भने, ‘रूपन्देहीदेखि पूर्व भने साँझैसम्म हुस्सु कुहिरो रहने देखिन्छ ।’

प्रकाशित मिति : २९ पुस २०७६ मंगलबार ००:००  ८ : २२ बजे