काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक बुधबार सुरु हुँदैछ। पूर्व–एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक नेकपा केन्द्रीय समितिमा एजेन्डागत छलफल हुन लागेको हो ।
आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन् । सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन् । एउटा समूहमा २९ नेता रहनेछन् । यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडा गरेर तीन ठाउँमा छलफल गर्नेछन् ।
केन्द्रीय समितिको पहिलो दिन बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्नेछन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् भने महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।
‘भावनात्मक एकता अझै नभएको ठानी अन्तर घुलनहोस् भन्ने उद्देश्यले अल्फाबेटको आधारमा समूह विभाजन गर्ने तयारी भएको छ’, केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले भने ।
केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ । यो समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन् । समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन् ।
केन्द्रीय समिति बैठकका लागि पाँच दिनसम्म राष्ट्रियसभा गृहको हल बुकिङ छ । रिपोर्टिङ सकिएपछि दुई अध्यक्ष र महासचिवले जवाफ दिनेछन् । जवाफ दिएपछि समसामयिक प्रस्ताव पारित हुनेछ ।
बैठकमा हरेक दिन अनमोल क्याटरिङले फरकफरक मेन्यूको खाजा लानेछ ।
प्रतिक्रिया