२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

सरकारले माग्यो १५ सय स्वयंसेवक शिक्षक, तलब ३२ हजार



काठमाडौं ।
स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेर बस्नुभएको छ ? छ भने स्वयंसेवक शिक्षकका लागि आवेदन दिन सक्नुहुन्छ ।
सरकारले स्वयंसेवक शिक्षकका लागि शुक्रबार आवेदन खुलाएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेर बसेका युवाका लागि स्वयंसेवक शिक्षकको आवेदन खुलाएको हो । १ हजार ५ सय स्वयंसेवक शिक्षकका लागि आवेदन खुलाएको केन्द्रले जनाएको छ ।

‘विश्वविद्यालयमा किताब त पढ्छन् तर कतिले देश र समाज नै बुझेका हुँदैनन्,’ केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपलियाले भने, ‘युवाले देश र समाज बुझ्ने अवसर पाउन् भनेर स्वयंसेवक शिक्षकको आवेदन खुलाएका हौँ ।’
आर्थिक वर्ष २०७६र०७७ को बजेटको ‘चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नो देश’ कार्यक्रमअन्तर्गत स्वयंसेवक शिक्षक राख्न लागिएको उनले बताए ।
विद्यालयमा अंग्रेगी, गणित र विज्ञानको शिक्षक कम भएकाले पनि त्यसको परिपूर्तिका लागि सहयोग मिल्ने भएकाले १ वर्षका लागि स्वयंसेवक शिक्षक राख्न लागिएको हो ।
‘युवाको श्रम र सीपलाई समाजमा प्रयोगसँगै उच्च शिक्षा हासिल गरेलगत्तै अनुभव हुने भएकाले भोलि जहाँ पनि काम गर्न सजिलो हुन्छ,’ उनले भने, ‘भर्खर उच्च शिक्षा हासिल गरेकाले आवेदन दिन सक्नेछन् । ’


तलब भत्ता स्नातकको २४, स्नातकोत्तरको ३२ हजार

स्वयंसेवक शिक्षकले २४ देखि ३२ हजारसम्म मासिक भत्ता पाउनेछन् । ‘विभिन्न स्थानीय तहका विद्यालयमा जानुपर्ने हुन्छ । त्यहाँ जाँदा स्वयंसेवक शिक्षकले खानुपर्‍यो, बस्नुपर्‍यो । त्यसका लागि स्नातकोत्तर गरेका दुर्गममा गए ३२ हजार र स्नातक गरेकाले सुगममा २४ हजार मासिक भत्ता पाउनेछन्,’ महानिर्देशक थपलियाले भने ।
उच्च शिक्षा हासिल गरेलगत्तै युवालाई विभिन्न ठाउँमा जाने र सेवा गर्ने अवसर दिने कार्यक्रम अन्य देशमा पनि छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ३ : ४८ बजे