२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

‘समृद्ध गाउँपालिका बनाउने दिशामा छौं, आवश्यक सहयोग गर्नुसः’ अध्यक्ष थापा



मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले समृद्ध गाउँपालिका बनाउने अभियानमा लागेको भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गनुभएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा गाउँपालिका पछाडि रहेको बताउँदै अब यी समस्या केही बर्ष पछि नदेखिने जिकिर गर्नुभयो । यो बर्ष देखि प्रत्येक घरमा पक्की शौचालय निर्माणका लागि बजेट छुट्याएको भन्दै यसले गाउँपालिकाको सरसफाई अभियानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पक्की शौचालयको प्रयोगले गाउँपालिका सरसफाईमा अगाडी देखिने भन्दै गत बर्ष खानीपानीको स्वच्छता परिक्षण गरिसकेको जानकारी दिनुभयो ।
सामुदायिक रेडियो विजयनगरले शनिबार देखि सुरुवात गरेको ८ दिने पत्रकारिता तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको पूर्वाधार विकास तीव्र गतिमा अगाडी बढेको जानकारी दिनुभयो । राजमार्ग र सहायक मार्गसंग जोडिने महत्वपूर्ण सडक पक्की बन्दै गरेको बताउँदै शिक्षा र स्वास्थ्यको सुधारमा प्रत्याप्त बजेट छुट्याएर काम अगाडी बढाइएको जानकारी दिनुभयो ।
गाउँपालिकाले लक्षित वर्ग अन्तर्रगत विभिन्न कार्यक्रम सञ्चालन गरेपनि त्यसको प्रभावकारीता त्यति बढी नदेखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । तालिम लिने तर व्यवहारमा नउतार्ने बानिले महत्वपूर्ण तालिमहरु पनि प्रभावकारी नदेखिएको भन्दै ८ दिने पत्रकारिता तालिम प्रभावकारी बन्नेमा आफु आशाबादी रहेको बताउँनुभयो ।
जहाँ पत्रकार त्यहाँ सुशासन, विकास र पारदर्शिता हुने भन्दै टोलटोलमा दक्ष पत्रकार बनेर उदाउन प्रशिक्षार्थीलाई उहाँले आग्रह गर्नुभयो । पत्रकार राज्यको चौथो अंगका रुपमा रहेपनि सत्य र तथ्यमा समाचार लेख्ने पत्रकारको गाउँघरमा खडेरी पर्न थालेको चर्चा गर्नुभयो । फेसबुकमा स्टाटस लेखेर तर्साउन खोज्नेहरुको विगविगी रहेको बताउँदै यसले सिंगो पत्रकारिता प्रतिको विश्वास घटाउने भन्दै सत्य र तथ्यमा आधारित समाचार बनाउन आग्रह गर्नुभयो । फेसबुके पत्रकार पत्रकारै नभएको उहाँको भनाई थियो ।
तालिम उद्घाटन समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले आधारभूत पत्रकारिता तालिमले प्रशिक्षार्थीको व्यक्तित्वमा केही परिवर्तन आउने आशा व्यक्त गर्नुभयो । आफ्नो परिचय ढुक्क दिन नसक्दा कतिपय व्यक्तिहरु क्षमता भएर पनि पछाडि पर्ने गरेको उदाहरण दिदै यो तालिमले यो समस्याको अन्त्य गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
रेडियो मायादेवी र मायादेवी अनलाइनका सम्पादक तथा प्रशिक्षक दिपक अनुरागीले शनिबार देखि सुरुवात भएको ८ दिने तालिमले स्थानीयस्तरमा सञ्चारकर्मी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तालिम लिदैमा सञ्चारकर्मी बन्न गाह्रो हुने भन्ने तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र प्रभावकारी देखिने बताउनुभयो । ८ दिने तालिममा रेडियो पत्रकारिता, मञ्चिय उद्घोषण, समाचार लेखन लगायतका विषयबस्तु हुने उहाँले जानकारी दिनुभयो ।
रेडियोका कोषाध्यक्ष गोकर्ण सापकोटाको अध्यक्षतामा भएको उद्घाटनसत्रमा गाउँपालिका भित्रका ३५ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । रेडियोका बजार प्रमुख डिल्लीराज तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रमको स्वागत मतव्य घनश्याम भरले राख्नुभएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ५ : २४ बजे