२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

बागलुङमा करेन्ट लागेर एक किशोरको मृत्यु



बागलुङ ।
बागलुङको पालामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । काठेखोला गाउँपालिका १ पालाका १६ वर्षीया स्वदेश थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । बागलुङ नगरपालिका ८ सिगानाको बारीमा आमासँग घाँस काट्नका लागि पुगेका थापाको ११ केभिए प्रसारण लाइनमा प्रवाह भएको विद्युतले ज्यान लिएको हो ।
बारी छेउमा रहेको प्रसारण लाइनको पोल अड्याउन लगाइएको तारबाट विद्युत चुहावट भई खानेपानीको फलामे पाइपमा जोडिएको (स्टे) तारका कारण उनको ज्यान गएको प्रहरीले जनाएको छ । पोल अड्याउन लगाइएको तारमा कसरी विद्युत प्रवाह भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । करेन्ट लागेपछि थापा बेहोस् भएका थिए । उनलाई उपचारको लागि धौलागिरी अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक हेम केसीले बताए । घटनाका विषयमा जनप्रतिनिधिसहित घटनास्थल पुगेको प्रहरीले अनुसन्धान थालेको छ । ‘अड्याउन लगाइएको तारमा कसरी विद्युत प्रवाह भयो। यो प्राविधिक विषय हो’ केसीले भने, ‘चुहावट भएर खानेपानीको पाइपमा पुगेको विद्युतका कारण दुर्घटना भएको हो । ’

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ६ : ३४ बजे