२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नेपाल भ्रमण बर्ष २०२० लाई कोरोना भाइरसले डुबायो, खारेज गर्ने सरकारी तयारी



काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा खारेज गर्ने तयारी गरेको छ।नेपाल आउने पर्यटकको मुख्य केन्द्र मानिएको चीनसहित विश्वका धेरै देशहरु नियन्त्रण बाहिर देखिएको कोरोना भाइरससँग जुधिरहेका बेला एकै वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित कार्यान्वयनमा ल्याइएको नेपाल भ्रमण वर्ष २ महिना पनि बित्न नपाउँदै खारेज गर्ने मनस्थितिमा सरकार देखिएको हो।

केही साता यता विश्वभर हवाई यात्रा प्रभावित बनेको छ। शनिबार नेपालमा हुने भनिएको एक अन्तर्रा्ष्ट्रिय आर्थिक सम्मेलनमा १२ देशका प्रतिनिधि सहभागी हुने बताए पनि भारतले मात्र उपस्थिति जनायो। निकट भविष्यमा हुने भनिएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गर्ने तयारीमा सरकार देखिएको छ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई लिएर विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको बताएका छन्। पर्यटन मन्त्रालयका अनुसार भ्रमण वर्ष प्रचारका कार्यक्रमहरु अब आन्तरिक रुपमा मात्र सिमित हुनेछन्।

‘जुन लक्ष्यसहित हामीले भ्रमण वर्ष सुरु गरेका थियौँ, त्यो अनुसार केही पनि हुने नदेखिएपछि अब यस कार्यक्रमलाई जारी राख्नु अर्थ छैन। सम्भवतस् मन्त्रालयले भ्रमण वर्ष खारेजीको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने छ’, मन्त्रालयका एक अधिकारीले भने।यसअघि पर्यटन मन्त्री भट्टराई आफै अस्ट्रेलियासहित केही देशमा भ्रमण वर्षको प्रचारमा निस्किएका थिए।

चीनको वुहान प्रान्तबाट देखिएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिएको छ। चीनसहित दक्षिण कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, इटाली, अमेरिकालगायत नेपाल घुम्न आउन सक्ने धेरै देश कोरोना भाइरसबाट प्रभावित छन्।

चीन नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देश हो। तर चीनका धेरै शहरहरुमा मानिसहरुको बाहिरी आवतजावत कम छ, मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन्।

चीनले त्यहाँ रहेका मानिसलाई स्वास्थ्य परीक्षण गरेर मात्र देशबाहिर जान दिएको छ। धेरै देशले चीनलाई अस्थायी हवाई प्रतिबन्ध लगाएका छन्। नेपालमा चीनबाट दैनिक करिब आधा दर्जन फ्लाइटहरु आउने गरेकामा अहिले एउटा मात्र विमान आइरहेको छ। कोरोना भित्रन सक्नेमा सावधानी अपनाउँदै अधिकांश देशले आफ्ना अन्तर्रा्ष्ट्रिय विमानस्थलहरुमा हवाई डेस्क खडा गरेका छन्।

कोरोना भाइरसका कारण शनिबारसम्म विश्वभर २ हजार ९ सय ३३ जनाको मृत्यु भएको छ। ८५ हजार ६ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा ३९ हजार ६ सय ८० जना उपचारपछि स्वास्थ्य लाभ गरिरहेका छन्।हाल ४३ हजार ७३ जना कोरोना भाइरसका बिरामी छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ६ : ५५ बजे