२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

शिवरात्रीको अवसरमा संचालित हथौसा मेला सकियो



मायादेवी अनलाइन, कपिलवस्तु ।
यहि फाल्गुण ९ गतेबाट सुरुभएको हथौसा मेला सकिएको छ । प्रत्येक बर्षको महाशिवरात्रीको अवसर पारि लाग्ने मेला (शनिबार) आजबाट सकिएको हो । शिवरात्रीको अवसरमा परापूर्व कालदेखि हथौसा मेला लाग्दै आएको छ । यहाँ लाग्ने हथौसा महाशिवरात्री मेला लुम्बिनी अञ्चलमै चर्चित छ । मेलाको फाल्गुण ९ गेते वाणगंगाका नगर प्रमुख मंगलप्रसाद थारुले उद्घाटन गर्नुभएको थियो ।
फाल्गुण १५ गते सम्ममेला संचालन गरिएपनि २ दिन थप गरिएको वडा नम्बर ११ का वडा अध्यष सोमनाथ अर्यालले जानकारी दिनुभयो । वर्षौ देखी लाग्दै आएको हथौसा मेला यस वर्ष वर्षाका कारण केही प्रभावित भएको थियो । वर्षाका कारण मेला २ दिन थप गरिएको वडा अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।


जिल्लाको हथौसा, महाशिवरात्री मेलाका हिसावले नेपालकै महत्वपूर्ण क्षेत्र हो । महाशिवरात्री मेला र थारु समुदायको परम्परागत संस्कृतिको आफ्नै गहिरो नाता रहेको थारु अगुवा भग्गु थारुले जनाउनुभयो । मेलामा सांस्कृतिक झल्कने खालका विभिन्न वस्तुहरुको प्रदर्शन गरिएके उहाले बताउनुभयो ।
आदीवासी जनजाती थारु समुदायको परम्परागत उत्पादन पद्धतीको प्रदर्शन र कृषि उपजको खरिद विक्रीका लागि संचालन हुने हथौसा मेला समय परिवर्तन संगै आधुनिक शैलीमा रुपान्तरण हुन पुगेकोछ । फल स्वरुप महाशिवरात्री हथौसा मेला यतिवेला कृषि प्रर्यटन उद्योग र सस्कृति आदान प्रदान गर्ने आधुनिक मेलाका रुपमा संचालन हुन थालेको छ ।


यो मेला नेपाल र भारतका किसानहरुका लागि विशेष महत्वको मेला हो । यहा परम्परागत कृषि उपकरण देखि आधुनिक पद्धतीका कृषि उपज सम्मको खरिद विक्री हुन्छ । नेपालका धेरै जिल्लाका नागरिक र भारतका हजारौ दर्शनार्थी यो मेला भर्न आउँछन् ।
यो मेलामा पछिल्लो पटक आधुनिक पिङ्ग, मौतका कुवा, जादु र विभिन्न प्रदर्शन योग्य स्टलहरु राखिने गर्छन । तसर्थ यो मेला एक आधुनिक मेलाका रुपमा विकसित हुन पुगेकोछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६ शनिबार ००:००  ७ : २२ बजे