२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

‘शिक्षाको नेतृत्व गर्ने ब्यक्तिसंग सामान्य गुण भएर हुँदैन’



बुटवल ।
‘Breaking with old ideas’ भन्ने चिनियाँ चलचित्र हेर्दा धेरै कुराको ज्ञान प्राप्त हुन्छ । विद्यालय एक औपचारिक प्रमाण पत्र हातमा थमाउने स्थल मात्र हो कि ? त्यो व्यवहारिक ज्ञान, सीप र प्रवृत्ति विकास गर्ने स्थल हो ? यो चलचित्रले प्रस्ट पारेको छ । हामीले विद्यालयलाई यथावत चलेको परीक्षा प्रणालीभित्र रहेर मूल्याङ्कन गर्ने र अंकका आधारमा विद्यार्थीको ग्रेडिङ गरिरहेका छौँ । यसले शिक्षा नीति र प्रणाली भित्र सुधार त गरेका छ तर परिवर्तन भने गर्न सकेको छैन । तसर्थ राज्य व्यवस्थाले अवलम्वन गरेको दर्शनबाट निर्देशित शिक्षा नीति सोहि अनुसार नै हुने कुरा सत्य हो । आज पनि शिक्षासँगको पाठ्यवस्तु, पुस्तक र मुख्य रुपमा पाठ्यक्रम जस्ताको त्यस्तै हुनुको मुख्य कारण खोज्नु पर्दछ । जे जति परिवर्तनको हल्ला गरिएको छ त्यो अत्तर्यमा गएर हेर्दा खासै परिवर्तन देखिदैन । गुण यथावत राखेर रुपमा मात्र परिवर्तन गरिएको हो? यसैकारणले होला शिक्षाको दर्शन पनि यथावत रहन पुगेको छ ।
अब एक प्रधानाध्यापकले बुझ्ने र आफ्नो दृष्टिकोण केन्द्रित गर्नुपर्ने कुराहरु धेरै छन् । पहिले प्रश्नको हल खोज्न पर्दछ कि हामीले एक प्रअको हैसियतले गर्न सक्ने अधिकतम के हो ? मैले प्रधानाध्यापक भएर कार्य गरिरहेको अनुभवको आधारमा भन्ने हो भने शिक्षाको सहि नीति, यही लगानी, यही संरचनाले गर्ने केवल परिवर्तन होइन, शिक्षामा सुधार हो । तसर्थ सुधार गर्न के के गर्ने ? कसरी के कस्तो योजना निर्माण गर्ने र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा स्पष्ट भएर, धेरै महत्वकांक्षी नभई, साना र व्यवहारिक साथै प्रभावकारी योजना सहित अगाडि बढ्नुु पर्दछ । यसैगरी अगाडि बढ्दै जाँदा सुधारका संकेत देखिदै जान्छन् ।
विद्यालय र प्रधानाध्यापक एक अर्काेको पुरक हुन् । जहाँ विद्यालय हुन्छ, त्यहाँ प्रधानाध्यापक अवश्य हुन्छ । प्रधानाध्यापक विहीन विद्यालय हुन सक्दैन । तर विद्यालयको दृष्टिकोण, लक्ष्य र योजनाले विद्यालयलाई एउटा प्रधानाध्यापकको नेतृत्वमा वि.व्य. स., शि. अ. क. र शिक्षक कर्मचारीले चाहे अनुसारको सुधार ल्याउन सकिन्छ भन्ने कुरा व्यवहारिक रुपमा कालिका मानविज्ञान मावि ले प्रमाणित गरेको छ ।

विद्यालयलाई पढ्ने पढाउने स्थलको रुपमा व्याख्या गर्ने र सोहि अनुुसारको अभ्यासले आजको २१ औँ शताब्दिमा विश्वव्यापीकरणले तिब्रता लिई रहेको अवस्थामा आजको समाजलाई आवश्यक जनशक्ति उत्पादन गर्न सकिदैन भन्ने सोचेर नै हामीले नयाँ दृष्टिकोण, नयाँ व्यवहारिक लक्ष्य र योजना सहित अगाडि बढ्ने प्रयत्न गर्याै । जसले गर्दा हाम्रो विद्यालयले २०७१ साल देखि २०७४ साल सम्म लगातार राष्ट्रिय ध्वजा, शिल्ड, प्रमाण पत्र र नगद पुरस्कारका साथै अन्तराष्ट्रिय सम्मान समेत पाउन सफल भएको छ । २०७५ सालमा ८, १०, ११ र १२ को परीक्षामा पनि हाम्रो नतिजा उत्कृष्ट रहन पुग्यो । २ जना MBBS सहित इन्जिनियरिङ, फरेष्ट्री, कृषि, BALLB, नर्सिङमा पूर्ण छात्रवृत्तिमा पढ्न पाउने विद्यार्थी ३९ जना यसै विद्यालयले एक वर्षमा उत्पादन गर्नुले पनि हामी आफ्नो लक्ष्य, उद्देश्य र योजनामा क्रमशः अगाडि बढ्दै छौँ भन्ने संकेत गर्दछ ।
तसर्थ एउटा प्रधानाध्यापकले समयको हिसाबले बिहान देखि साँझसम्मको समय दिन सक्नु पर्दछ । ऊ एउटा सरल योजनाकार हुनुपर्दछ । प्रअ विद्यालयको नेतृत्व भएकाले उसमा नेतृत्व गर्न सक्नेआवश्यक गुण हुनुपर्दछ । स्वार्थदेखि माथि, निर्णय शक्ति र क्षमता, पक्षपात रहित, सामूहिकतामा रमाउने, सहनशीलता, सृजनशीलता जस्ता गुण एउटा प्रअमा हुनै पर्दछ ।
एउटा प्रधानाध्यापकले आफ्नो जिम्मेवारीलाई कसरी लिनु पर्दछ भन्ने सवालमा – आफ्नो विद्यालय सबै विद्यालय भन्दा उत्कृष्ट कसरी गराउन सकिन्छ, त्यसको लागि के–के निर्माण गर्नुपर्ला भन्ने ’bout चिन्तनशील हुनुपर्दछ । विद्यालयलाई उत्कृष्ट र राम्रो भन्ने आधार के के हुन्, ती आधार खोज्नु पर्दछ र त्यो आफ्नो विद्यालयमा प्रयोग गर्नुपर्दछ ।

विद्यालयमा प्रवेश गर्ने विद्यार्थीहरु खुसीका साथ प्रवेश गर्दछन् र रमाएर सिक्छन् भने शिक्षक शक्ति सञ्चय सहित विद्यालय प्रवेश गर्दछ र फुर्तिलो र हँसिलो रुपमा आफ्नो कर्तव्य पूरा गर्दछन् साथै अभिभावकले विद्यालय पठाउँदा आफ्नो सन्ततीको भविष्य सुनिश्चित हुने आशाका साथ पठाउँदछन् । अनुशासित, शान्तप्रिय, शैक्षिक वातावरण भएको विद्यालय नै राम्रो विद्यालय हुन्छ भनेर सोहि अनुसार बनाउने कोसिस गरिएको हुनुपर्दछ ।
छात्राछात्रहरुले प्राप्त गरेको सफलता नै विद्यालय र प्रधानाध्यापकको सफलता सम्झनु पर्दछ । शिक्षक बन्न पाएकोमा गर्व गर्ने र आफ्नो पेशालाई सम्मान गर्ने शिक्षक हुनुपर्दछ । विद्यालयमा उत्कृष्ट शिक्षक प्रवेशले मात्र उत्कृष्ट विद्यार्थी उत्पादन गर्न सक्दछ भन्ने मान्यतालाई आत्मसाथ गरिनु पर्दछ । शिक्षक सम्मानित गर्न विभिन्न प्रोत्साहनका कार्यक्रमलाई अगाडि बढाइनु पर्दछ । छात्रछात्राहरुमा प्रतिस्पर्धात्मक र रमाइलोसँग सिक्ने सिकाउने वातावरणको सृजना गरिनु पर्दछ । उनीहरुको आन्तरिक प्रतिभालाई प्रस्तुत गर्ने र त्यसलाई विकास गर्ने अवसर दिइनु पर्दछ । विद्यालयको मुख्य इनपुट विद्यार्थी हो । वैज्ञानिक र व्यवहारिक प्रक्रिया द्वारा राष्ट्र र समाजका लागि काम लाग्ने उपयोगी ज्ञान दिन सक्नु पर्दछ । त्यस्तो विद्यालयमा प्र.अ.को मात्र होइन सबैको नजर विद्यालयमा पर्दछ ।

लेखक घनश्याम पाठक मुलुककै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मावि बुटवलका प्रधानाध्यापक हुनुहुन्छ । उहाँले राष्ट्रपति पदक लगायतका थुप्रै शैक्षिक विभूषणहरु पाउन सफल हुनुभएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ६ : ४९ बजे