१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

कोरोना भाइरसको औषधि ६ महिनामा तयार हुन्छः अमेरिकी उपराष्ट्रपति माइक



काठमाण्डौ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधी आउँदो अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताउनु भएको छ । ‘यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आउँदो अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,’ उपराष्ट्रपति पेन्सले बताउनुभयो । अमेरिकी औषधी कम्पनीहरूले नयाँ कोरोना भाइरसको उपचारका औषधी र खोपहरू विकास गर्न एकअर्कासँग सूचना आदानप्रदानसहित संयुक्त प्रयास गरिरहेको बताइएको छ ।

उपराष्ट्रपति पेन्सले नयाँ कोरोना भाइरसको खोपको क्लिनिकल परीक्षण ६ सातादेखि आरम्भ हुने बताउनुभयो । कोरोना भाइरस सङ्क्रमित चार अमेरिकी नागरिकको सोमबार ज्यान गएको थियो, र योसहित अमेरिकामा ज्यान गुमाउनेको संख्या बढेर ६ पुगेको छ । अमेरिकामा भाइरस सङ्क्रमित व्यक्तिको संख्या १०० पुगिसकेको छ । सोमबारसम्म यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार नाघिसकेको छ । यीमध्ये अधिकांश व्यक्ति चीनका रहेका छन् । यद्यपि अन्य देशमा नयाँ सङ्क्रमण दर चीनमाभन्दा १० गुणा बढी रहेको देखिएको संयुक्त राष्ट्र विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वभर हाल करिब ८८ हजार ९४८ जना कोरोना सङ्क्रमित छन् ।

अमेरिकाको फ्लोरिडा र वासिङ्टन राज्यमा सार्वजनिक स्वास्थ्य आपतकालीन स्थिति घोषणा गरिएको छ । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ४ : २५ बजे