१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोना महामारीः वाणगंगाले बनायो राहत वितरणका लागि समिति, वितरण कहिले ?



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहय वर्गका लागि राहत वितरण गर्न समिति गठन गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) ले निम्ताएको लकडाउनको कारण नगरभित्रका विपन्न, गरिब तथा मजदुर वर्ग प्रभावित भएको भन्दै राहत वितरणका लागि राहत सामग्री व्यवस्थापन समिति गठन गरेको हो ।
नगर उप–प्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा गठन गरिएको समितिमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, सामाजिक संघ संस्थाका तर्फबाट विष्णु न्यौपाने, गैरसरकारी संस्थाबाट लक्ष्मण बेल्वासे, उपभोक्ता हकहित संरक्षण समितिबाट भेषराज पाण्डे रहनुभएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । समितिको सदस्य सचिवमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिमबहादुर जिसी रहनुभएको प्रवक्ता पौडेलले मायादेवीलाई बताउनुभयो ।
विहीबार नगरपालिकामा बसेको आकस्मिक नगर कार्यपालिकाको बैठकले आगामी तीन दिन भित्र सबै बडालाई राहतका लागि आवश्यक नाम सिफारिस गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । वडाबाट नाम सिफारिस भएका आधारमा राहत वितरण गरिने उहाँको भनाई छ ।
केन्द्र सरकारले बनाएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक बर्ग तथा असाहयलाई उपलब्ध गराउने राहत सम्बन्धि मापदण्ड स्विकृत गर्दै त्यही अनुसार राहत दिने नगरपालिकाले जनाएको छ ।
५ जना भन्दा कम भएका परिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन, २÷२ ओटा हातधुने र कपडा धुने साबुन पाउनेछन भने ५ भन्दा माथिका परिवारले ३० किलो चामल, डेढ लिटर तेल र अरु ५ जनाको परिवारले पाउने सामग्री पाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो ।
नगरपालिका भित्र एकद्धार प्रणालीबाट मात्र राहत वितरण गर्न पाइने छ । नगर भित्र राहत वितरण गर्न इच्छुक संघ संस्था, उद्योगी व्यवासायी, नागरिकले नगरपालिकाले खोलेको बैंक् खातामा रकम जम्मा गर्न सक्नेछन । यो विपत्तीको बेलामा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै नगरबासीलाई नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ४ : ०४ बजे