१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

होम क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने नियमबारे माइकिङ गर्दै बुद्धभूमि, अटेरी गरे कारबाही



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले होम क्वारेनटाइनमा बस्दा उपनाउनुपर्ने नियमबारे नगरबासीलाई सु–सुचित गर्ने अभियान चलाएको छ । सरकारले कोरोना भाइरसको जोखिम कम गर्नका लागि होम क्वारेनटाइनमा अनिवार्य बस्न भने पनि कतिपय सर्वसाधारणले सामान्य रुपमा लिए पछि माइकिङ मार्फत सचेतना जगाउन थालिएको हो ।
गृह मन्त्रालयले होम क्वारेनटाइनमा बस्दा अपनाउनुपर्ने १५ बुँदे नियम जारी गरेपनि नगरबासीले थाहा नपाएपछि माइकिङ मार्फत जानकारी दिन यो अभियान चलाइएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरभित्र बसोबास गर्ने नागरिकले यो सबै नियम बुझ्न सजिलो होस भन्नका लागि नेपाली, मेधसी र थारु भाषामा माइकिङ गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । नगरभित्रका १० वटै वडामा यो कामको सुरुवात गरेको उहाँको भनाई छ ।
भारतसंगै तेस्रो मूलुकबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेनटाइनमा राख्नुपर्ने व्यवस्था भएपनि कतिपयले अटेरी गर्दा कोरोनाको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनगर गरी यो अभियान थालिएको उहाँको भनाई छ । अबका केही दिन यो नियमबारे आम नगरबासीलाई सु–सुचित गर्ने, यदि यो गर्दा पनि अटेरी गरे सबैलाई क्वारेनटाइनमा राखिने उहाँले बताउनुभयो ।
नगरपालिकाले लकडाउनको समयमा भारतीय सिमा नाका काटेर आउने नागरिकलाई अनिवार्य क्वारेनटाइनमा राख्ने व्यवस्था गरेको छ । लकडाउन भन्दा अगाडी आएका नागरिकलाई होम कवारेनटाइनमा राखिएको नगरपालिकाका प्रशासकीय अधिकृत राजन पोख्रेलले जानकारी दिनुभयो । नगरभित्र ३० बेडको क्वारेनटाइन बनाइएको र आवश्यकता अनुसार थप हुने अधिकृत पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति : २० चैत्र २०७६ बिहिबार ००:००  ४ : २० बजे