७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्न राजपाको माग



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी राजपाले कोरोना भाइरस रोकथामका लागि ल्याइएका स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको अनियमितता छानबिन गर्न माग गरेको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्नसमेत माग गरेका छन् ।
यस्तो महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्री अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको परकाष्ठा हो,भण्डारीले भनेका छन्, खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछौं।
नेपाल-भारत सीमानाकामा नेपाली नागरिक अलपत्र परेकाले तत्काल नागरिकहरूलाई स्वदेश ल्याउने र स्वास्थ्य परीक्षण शंकास्पदलाई क्वारेन्टाइनमा राख्नसमेत राजपाले माग गरेको छ।
वडा तहबाटै अत्यावश्यक उपभोग्य सामग्री र राहत आमनागरिकसम्म पुर्‍याउने निर्णय कार्यान्वयन गर्न राजपाले सरकारको ध्यानाकर्षण गराएको छ।
त्यस्तै कोरोना महामारीबाट जोगिन लक डाउनलाई प्रभावकारी बनाउन पर्ने भएकाले धैर्यताका साथ घरमै बस्न राजपाले अपिल गरेको छ।

प्रकाशित मिति : २१ चैत्र २०७६ शुक्रबार ००:००  ४ : ५६ बजे