८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शिवराजले नगरभित्रका १६ सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने



मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले राहत वितरणका लागि मापदण्ड बनाएको छ । पहिलो चरणमा प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नून, १ लिटर तेल र एउटा लाइफब्वाय साबुन उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । सोही अनुसार राहत सामग्री खरीत तथा वितरण समितिलाई सामग्री खरीदका लागि जिम्मेवारी समेत दिइसकिएको बताइएको छ ।
साथै नगरको मापदण्ड बमोजिम ५सयदेखि एक हजार घरधुरीसम्म हुने वडाका एक सय विपन्न घरले राहत पाउनेछन् । एक हजारदेखि १५सय घरधुरी हुने वडाका एक सय घरले र १५सयभन्दा माथि घरधुरी हुने वडाका २सय विपन्न घरले राहत पाउनेछन् । सोही मापदण्ड अनुसार शिवराजमा कूल १६सय विपन्न श्रमिक तथा असहायले राहत पाउने देखिन्छ ।

कुन वडामा कति विपन्न परिवारले राहत पाउँछन् त ? (सूचीसहित)

वडा नं. कूल घरधुरी संख्या राहत पाउने
1 1944 200  
2 931 100  
3 1544 200  
4 1166 150  
5 2220 200  
6 1062 150  
7 589 100  
8 851 100  
9 1365 150  
10 764 100  
11 1142 150  
जम्मा 13578 1600  

राहत सामग्री खरीदका लागि मूल्यसूची माग
शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ ।
राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय परिवारका लागि खरीद गरी वितरण गर्न मूल्यसूची आह्वान गरेको हो । समितिको बैठकले मध्यम खालको चामल, मसुरोको दाल, सनफ्लावर तेल, आयोडिन युक्त नून र ७५ ग्रामको लाइफब्वाय साबुन खरीद गरी वितरण गर्ने प्रयोजनका लागि मूल्यसूची माग गरिएको समिति संयोजक शिवकुमारी थारुले जानकारी दिएकी छन् ।
सो सम्बन्धी कारोबार गर्ने व्यापारी व्यवसायीले चैत २२ गते दिउँसो १ बजेभित्र नगरपालिकाको कार्यालयमा मूल्यसूची पेश गर्नुपर्नेछ । चामल र दालको हकमा नमूनासहित पेश गर्नुपर्ने नगरपालिकाको पत्रमा उल्लेख छ । जिम्मा पाउने व्यवसायीले चामल २५ केजी र अन्य सामग्री एकैसाथ प्याकिङ्ग गरी उपलब्ध गराउनुपर्ने पत्रमा जनाइएको छ ।

शिवराजमा ६३ लाखको राहत कोष
कपिलवस्तुको शिवराज नगरपालिकाले ६३ लाखको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’ स्थापना गरेको छ ।
हाल महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संभावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई लक्षित गरी प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको हो । स्थापित प्रकोप व्यवस्थापन कोषमा विभिन्न सहयोगी दाताहरुबाट अहिलेसम्म ८८ हजार ५ सय रुपैयाँ जम्मा भइसकेको नगरप्रमुख नेत्रराज अधिकारीले जानकारी दिए । बिहीबारबाट नेपाल बैंकमा संचालनमा आएको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’ मा मनकारी व्यक्तिहरुबाट सहयोग रकम जम्मा भएको प्रमुख अधिकारीले बताए ।
कोषमा हालसम्म ६३ लाख ८८ हजार ५ सय जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । कोषमा नगरपालिकाले ६३ लाख रकम जम्मा गरेको छ । शिवपुर १, निवासी दिपाली निर्माण सेवाका व्यवस्थापक दलर्जन के.सी.बाट ११ हजार, शिवपुर १, निवासी सरोज शर्माबाट ११ हजार ५सय, चन्द्रौटा निवासी क्रिष्टल डिजिटल फ्याक्स प्रिन्ट तथा स्काइ फेसन गार्मेन्टका व्यवस्थापक पदमराज पौडेलबाट १५ हजार र खरेन्द्रपुर निवासी चन्द्रौटा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा शिव एण्ड सपना टेडर्सका व्यवस्थापक ईश्वरी प्रसाद पाण्डेबाट ५१ हजार रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । यता शिवराज ५, बालापुरमोड निवासी राहुल ड्रिङकिङ्ग वाटर तथा सेरोमनी पिउने पानीका व्यवस्थापक चिन्तामणी भुसालले शिवराज नगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा ११ हजार दिने घोषणा गरेका छन् ।
अति विपन्न श्रमिक एवं असहाय परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने नगर उपप्रमुख राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीले जानकारी दिएकी छन् । पहिलो चरणमा डाटा संकलन भइसकेको तर संख्या धेरै आएकोले सर्बपक्षीय छलफलबाट पुनः छनौटपछि वडामार्फत राहत वितरण कार्य शुरु गरिने उनले बताइन् । समितिमार्फत राहत सामग्री खरीदका लागि मूल्यसूची माग गरिसकिएको उप प्रमुख चौधरीले बताइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६ शनिबार ००:००  १ : ०२ बजे