१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सिद्धार्थले दियो तीन पालिकालाई राहत प्याकेज



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका ३ गाउँपालिकालाई स्थानीय संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले राहत प्याकेज वितरण गरेको छ । संस्थाले शुद्धोधन, मायादेवी र विजयनगर गाउँपालिकाका १ सय ८५ घरपरिवारलाई विशेष राहत प्याकेज वितरण गरेको हो । नेपाल सरकारको लकडाउनका कारण कार्यक्षेत्रका गरिब विपन्न तथा सिमान्तकृत परिवारलाई अत्यावश्यक दैनिक उपभोग्यबस्तुको अभाव भएछि खाद्यान्न वितरण गरेको हो । त्यस्तै विजयनगर गाउँपालिका वडा नं. १ गुगौलीका आगलागी पिडित २५ घर परिवारलाई राहत प्याकेज वितरण गरेको संस्थाले जनाएको छ ।
कपिलवस्तुमा पहिलो पटक संस्थाको सहयोगमा लकडाउनका बेला गरिब विपन्न समुदायलाई राहत वितरण गरेको जनाएको छ । आइ एम स्वीडिस डेभलपमेन्ट पार्टनरको सहकार्यमा सिद्धार्थ सामाजिक विकास केन्द्रले २ पालिकाका ३ वटा वडामा २ लाख ४० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको सचिव रोमकान्त घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शुद्धोधन गाउँपालिका १ पतरिया, २ नन्दनगर र मायोदवी गाउँपालिका ३ फुलिकाका १ सय ६० सिमान्तकृत परिवारलाई राहत सामग्री वितरण गरेको हो । सम्वन्धित वडा अध्यक्षहरु मार्फत चामल, दाल, तेल, आटा, नुन, सोयाविन, सर्फ, साबुन वितरण गरेको वडा अध्यक्ष तिलकराम यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रगतिनगरका २५ नेटुवा जातीका घरपरिवारलाई राहत वितरण गरेर वडालाई धेरै सहयोग पुगेको बताउनुभयो ।
संस्थाका पूर्व अध्यक्ष पोमनारायण पौडेलले लकडाउनको कारण कोही पनि नागरिक खान पाउनबाट बञ्चित हुन नदिन र उनीहरुको खाद्य अधिकार सुनिश्चित गर्न संस्थाले पैरवी गरिरहेको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाको पनि संकटका बेला मानव अधिकारको दृष्टिले पनि अत्यावश्यक राहत सहयोग जुटाएको बताउनुभयो ।
त्यस्तै विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन मुलुकलाई लकडाउन गरेको बेला गत शुक्रबार गुगौलीका आगलागी पिडितलाई राहत प्याकेज वितरण गरिएको छ । २५ घर परिवारलाई तत्कालका लागि आवश्यक पर्ने लत्ता कपडा, भाँडाकुडा, सरसफाईका सामान लगाएतका सामग्री गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मार्फत संस्थाले राहत वितरण गरेको छ । उक्त सहयोग संस्थाले केयर नेपालको सहकार्यमा वितरण गरेको बताइएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले विपतको बेलामा सहयोग गर्नु र पीडित परिवारलाई जीवन यापनमा सहज बनाउन सवै लाग्नुपर्नेमा जोड दिनुभयो । अन्य संस्थाले खाद्यान्न उपलब्ध गराएपनि लत्ताकपडा, भाडाकुडा लगाएतका राहत पाएपछि आगलागी प्रभावित परिवार खुसी भएको पीडित काशिराम यादवले बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ७ : ४६ बजे