८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कपिलवस्तुमा कोरोना त्रासः तौलिहवा र भैरहवाका अस्पतालले भर्ना नलिएपछि महिलाको अकालमै ज्यान गयो



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरसको त्रासले गर्दा कपिलवस्तुमा उपचार नपाएर एक महिलाको अकालमै ज्यान गएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ७ रंगपुरकी अन्दाजी ३६ बर्षीय कलामुन निशाको उपचार नपाउँदा मृत्यु भएको हो ।
आइतबार राति ज्वरोले च्यापेपछि निशालाई नीजि सवारीको सहायताले कपिलवस्तु अस्पताल तौलिहवा ल्याइएको थियो । त्यहाँ अस्पतालले भर्ना गर्न नमाने पछि विरामीका आफन्तले उनलाई तत्काल भैरहवा लगेका थिए ।
भैरहवा मेडिकल कलेजले पनि उनलाई भर्ना नलिए पछि पुनः कपिलवस्तु अस्पताल ल्याएको मृतकका छिमेकी अब्दुल महिद खाँले मायादेवी अनलाइनलाई बताउनुभयो । भैरहवाबाट पुनः दोस्रो पटक पनि कपिलवस्तु अस्पतालले भर्ना गर्न नमानेपछि विरामीका आफन्तले निशालाई घर लगेको खाँले बताउनुभयो । सोमबार विहान यो विषय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई सुनाए पछि कपिलवस्तु अस्पतालमा ल्याएको र अस्पताल परिसरबाटै चिकित्सकले मृत घोषणा गरिदिएको मृतकका ससुरा सरिफ खाँले मायादेवीलाई बताउनुभयो ।
मृतक निशालाई तीन दिन पहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि खाएको खाँले बताउनुभयो । सामान्य टाईफाइट भएको भन्दै स्थानीय मेडिकलले दिएको र त्यो औषधिले काम नगरेपछि उनलाई आइतबार राति अस्पताल ल्याइएको उहाँले बताउनुभयो । उनलाई ज्वरोले च्याप्दै लगेपछि अस्पताल ल्याएको भएपनि चिकित्सकले भर्ना नलिदा आफ्नो बुहारीको अकालमा ज्यान गएको उहाँले गुनासो गर्नुभयो । साथै उहाँले एम्बुलेन्स खोज्दा तत्काल नपाएपछि नीजि सवारी साधन प्रयोग गरेको सुनाउनुभयो ।
सामान्य ज्वरो आएका विरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको गाउँपालिकाका वडा सचिव हलिम मुसलमानले पनि बताउनुभयो । चिकित्सकले विरामीलाई भर्ना गरेको भए ज्यान जाने स्थिती आउने थिएन होला मुसलमानले भन्नुभयो ।
कपिलवस्तु अस्पतालका मेसु डा. किशोर बञ्जाडेसंग यो विषयमा बुज्न खोज्दा आफु फिल्डमा रहेकोले अस्पतालमै आएर कुराकानी गर्ने बताउनुभयो । यो विषयबारे कुरा राख्दा डा. बञ्जाडेले विरामीको बाटोमै मृत्यु भैसकेको स्विकार गर्नुभयो । तर, किन आइतबार राति भर्ना नगरे भन्ने प्रश्नमा अस्पतालमै आएर बुज्न उहाँले आग्रह गर्दै फोन राख्नुभयो ।
उता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले विरामीलाई अस्पतालले भर्ना नगरेको भन्ने गुनासो आफुलाई आज विहानमात्र आएको बताउनुभयो । यो सुनेपछि आफुले कपिलवस्तु अस्पताललाई किन भर्ना नगरेको भनेर सोधेको र त्यहाँ उपचारका लागि लैजान विरामीका आफन्तलाई तत्काल भनेको मायादेवीलाई बताउनुभयो ।
अहिले विरामीको मृत्यु भैसकेको भन्ने आफुलाई थाहा नभएको उहाँले बताउनुभयो । यो बेला जिल्लाका कुनै पनि अस्पतालले विरामीलाई भर्ना गर्न नमाने आफुलाई तुरुन्त फोन हान्न उहाँले आग्रह गर्नुभयो । आफुले चौबिसै घण्टा फोन उठाउने भन्दै समस्या परे तत्काल फोन हान्न उहाँले अनुरोध गर्नुभएको छ ।
कोरोना भाइरसको त्रासले गत हप्ता मात्र वाणगंगाको पिपरा अस्पतालले विरामीलाई हेर्दै नहेरी बुटवल पठाएको थियो । बुटवल बेवारिसे छाडेर अस्पतालको एम्बुलेन्स फर्किएको थियो । अर्को दिन विरामी रातभर हिडेर पुनः पिपरा आएको घटना बाहिरिएको थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासले सामान्य ज्वरो आएका विरामीलाई पनि भर्ना नगर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  ३ : ४२ बजे