१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गाउँकै उत्पादन मकै, कोदो र फापर राहतमा



बागलुङ ।
कोरोना भाइरस (कोभिड–१९) जोखिमले दैनिक श्रम र ज्याला गुमाएकाको परिवारलाई ताराखोला गाउँपालिकाले राहत वितरण गरेको छ । लकडाउनले समस्या झेलेका श्रमिक र मजदुरलाई खेतबारीमा उत्पादित मकै, कोदो, फापरलगायत अन्नबाली वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीका अनुसार शनिबार वडा नं १ का ३३ विपन्न परिवारलाई १० र १५ पाथीका दरले मकै-कोदो वितरण गरियो । यस्तै प्रतिपरिवार दाल दुई किलो चिनी दुई किलो, तेल एक लिटरसहित नुहाउने-हात धुने साबुन प्रदान गरिएको जनाइएको छ ।

आइतबार वडा नं ३ का २५ परिवारलाई राहत बाँडिएको उनले बताए । बाँकी वडा नं. २ का २५, ४ का २६ र ५ का २३ परिवारलाई आज राहत वितरण गरिने उनको भनाइ छ ।

बिहानबेलुका हातमुख जोड्नै कठिन भएका परिवारको वडागत तथ्यांक सङ्कलन गरी राहत वितरण गरिएको हो । ‘तत्काललाई गाउँकै उत्पादन राहतमा प्रयोगमा गर्ने निर्णय भएकाले सोहीअनुसार गरेका छौं,’ अध्यक्ष घर्तीले भने, ‘स्थानीय उत्पादन जैविक र पौष्टिक पनि हुन्छ ।’

राहतस्वरूप बाँड्नका लागि गाउँपालिकाले गाउँका किसानबाट ६० मुरी मकै र २० मुरी कोदो खरिद गरेको थियो । चार जनाको परिवारलाई १० र त्योभन्दा धेरै सदस्य भएका परिवारलाई १५ पाथीका दरले अन्न वितरण गर्ने गरिएको छ ।

बजारबाट नकिनी गाउँमै उब्जाउ भएको अन्नपातलाई राहतमा प्रयोग गर्ने गाउँपालिकाको सोचलाई धेरै रुचाएका छन् । कोरोना भाइरसविरुद्ध शरीरको प्रतिरक्षा प्रणाली बलियो पार्न घरेलु उत्पादनले सघाउने विश्वाससमेत गरिन्छ ।

ताराखोला स्थानीय उत्पादनका हिसाबले अगाडि छ । त्यहाँको मुख्य नगदेबाली भाँगो र आलु हो। गाउँपालिकाले कुनै परिवार छुटेका भए पनि राहतमा समेट्ने योजना बनाएको छ । अवस्था हेरेर राहतका थप कार्यक्रम ल्याउने बताइएको छ ।

जिल्लाका दशवटै स्थानीय तहले सङ्कटको यस घडीमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । लकडाउनले दैनिक ज्याला मजदुरी गरेर परिवार धान्ने चर्को मारमा परेका छन् । (रासस)

प्रकाशित मिति : २४ चैत्र २०७६ सोमबार ००:००  ८ : ०२ बजे