८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

संघीय सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन



काठमाडौँ ।
गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।
समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।
‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन । यससम्बन्धी निर्दे्शिका र नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ । यसमा ठूलो वा सानो भन्ने हुँदैन। नियमअनुसार सबै क्वारेन्टाइनमा बस्नैपर्छ।’
सीमाबाट आवतजावतलाई थप कडाइ गर्न पनि निर्देशन दिइसकिएको सहप्रवक्ता अधिकारीले बताए।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  २ : ५५ बजे