१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उत्साह मानसिक विचलनको सबैभन्दा ठूलो औषधी



कमल पौडेल ।
जब–जब विश्वमा विपद् आइपर्छ, तब–तब मान्छेहरुको उत्साह, साहस र धैर्य कमहुँदै जान्छ । मान्छे अन्नले मात्र बन्दैन । मान्छे भित्रको मन, हृदय, बुद्धि आदितत्वहरुको उत्तिकै भूमिका हुन्छ, जति शरीरका अन्य अवयवहरुको हुन्छ । मान्छे स्वस्थ त्यतीखेर हुन्छ जतिखेर उसको आत्मा, ईन्द्रिय र मन प्रसन्न हुन्छन् । विश्व स्वास्थ्य संगठनको परिभाषा पनि यस्तै छ– शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक तवरबाट स्वस्थ हुनलाई मात्र स्वस्थ व्यक्ति भन्न सकिन्छ । यो कुरा हजारौं वर्ष पहिले आयुर्वेदले भनिसकेको छ –

समदोष समाग्निश्च समधातु मलक्रिया ।
प्रशन्नात्मिन्द्रियमना, स्वास्थ्यत्येभिधियते ।।
अर्थातः– शरीर भित्रका त्रिदोषहरु, अग्निहरु, धातुहरुको समावस्था, मल आदि क्रिया निरन्तर हुनु र शरीरभित्र स्थित आत्मा, ईन्द्रिय र मन प्रशन्न भएको अवस्था नै स्वास्थ्य हो ।
अहिलेको वर्तमान अवस्थामा आत्मा, ईन्द्रिय र मन विचलित छ । मान्छेहरु कोरोनाको डरले त्राहि–त्राहि भएका छन् । दिन प्रतिदिन संक्रमण हुनेको संख्या र मर्नेको संख्या बृद्धि भैरहेको छ । विशेष गरेर आत्मबल कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता कम हुने र बुढापाकाहरुका लागि निकै नै डरको अवस्था सिर्जना भएको छ । उत्साह दिन प्रतिदिन घट्दै गैरहेको छ । विहान साँझ आउने समाचारले मान्छेहरुलाई शसंकित बनाइरहेको छ ।
यो अवस्था मर्नकै लागि आएको हो त ? के हामी सबै मर्ने नै हो त ? के यो तेस्रो विश्व युद्ध हो र ? के यो चाइनाले बनाएर पठाएको भाइरस हो र ? यस्ता अनेक प्रश्न विश्वभरीका मान्छेहरुको मनमा दौडिरहेको छ । सानो बालक देखि बृद्धि सम्मको मुख–मुखमा कोभिड–१९ को मन्त्र छ ‘कोरोनाभाइरस’ विश्वभर कोरोनाको महाअनुष्ठान नै चलेको छ ।
अहिलेको वातावरण भनेको नकात्मक उर्जा एक्टिभ भएको अवस्था हो । जताततै नकारात्मक उर्जा प्रवाह भैरहेको छ । यो विकारल अवस्थामा सकारात्मक चिन्तन राख्ने साधक, अभियन्ता, संघ, संस्थाहरुले सकारात्मक उर्जा प्रवाहका लागि अभियान छेड्नुको विकल्प नै छैन । विश्वमा यस्ता अनेक किसिमका भयावह स्थिति आउनुमा एकमात्र कारण छ , त्यो हो – सकारात्मक उर्जाको विकेन्द्रिकरण यदि संसारमा भए जति सकारात्मक उर्जा केन्द्रिकृत भएको भए यो अवस्था आउने नै थिएन । सबैसंग आ–आफ्नै गुण छन्, कसैमा शक्ति बढी छ, कसैमा, चिन्तन, कसैमाकर्म, कसैमा ज्ञान, कसैमा आविष्कार तर यी सबै वस्तु र साधन अहिले निरर्थक भैरहेछन् । यी सबै तत्वको समिश्रणले विश्वकल्याण गर्नुको साटो एक अर्कालाई शक्तिशाली र श्रेष्ठ बनाउने अभियान चलाउँदा बुद्धिको समुचित विनियोजन हुन सकेन । जसको फलस्वरुप अज्ञात, अदृश्य तत्वले हामीलाई दिन–प्रतिदिन खोक्रो बनाउँदै छ ।
शरीरका अन्य अवयव ठिक भएर के गर्नु जब मन स्थिर छैन, ईन्द्रियले समुचित काम गर्दैन र आत्मा चिन्तित भैरहन्छ भने । जुन तत्व हुँदा मान्छे , मान्छे हुनुेको बोध गर्न सक्छ, त्यो नै हराउँदै जाँदाको सहजहुन सक्छ होला ? यो वैश्विक समस्याको घडिमा पाँच कुरालाई ध्यानदिनु आवश्यक पर्दछ जसले गर्दा कोरोनाले ल्याएको यो समस्यादेखि लड्न मद्दत पुग्दछ । तीतत्वहरु ह्ुन् १. उत्साह, २. साहस, ३. धैर्य ४. दृढनिश्चय, ५. जनसंग परित्याग,
१. उत्साह : –
उत्साह आन्तरिक मानसिक उर्जाको प्रवाह हो, जसले कुनै पनि कामलाई तत्परतापूर्वक पूर्ण गर्नका लागि शक्ति प्रदान गर्दछ । उत्साहले सकारात्मक उर्जाको क्षेत्रमा तीब्र प्रगतीको काम गर्दछ । कुनै पनि कार्यमा प्रगती प्राप्तिका लागि सर्वप्रथम त्यसभित्रको रुची, कल्याणकारीत्व र त्यसबाट आउने परिणामको ज्ञान हुन आवश्यक छ । जसले गर्दा इच्छित लाभ प्राप्तिका लागि त्यसप्रतिको रुचि र उत्साहमा बृद्धि हुदै जाओस् र कार्यमा मन लाग्न थालोस् ।
कुनैपनि अवस्थामा उत्साह कम हुन नदिनुहोस् । यदि लामो समयसम्म यसो गर्न सके रोग प्रतिरोधात्मक क्षमता पनि बृद्धि हुँदै जान्छ । मनपनि संतोष र प्रफुल्लित हुँदै जान्छ । उत्साह मानसिक विचलनको सबैभन्दा ठूलो औषधी हो ।
२. साहस :–
भनिन्छ मान्छेमा उत्साह मात्र भएर हुँदैन । उत्साह गरेको काम पूरा गर्नका लागि साहस को आवश्यकता पर्दछ । चल्दै गरेका अवान्छनीय प्रवाहका विरुद्ध परिवर्तनका लागि साहस हुनु अति आवश्यक छ । आत्मविश्वास एवं ईश्वर विश्वास अथवा सत्य ज्ञानबाट व्यक्तिमा अद्भुत साहस उत्पन्न हुन्छ । प्रतिकुलताहरु देखि नडराई विपरित परिस्थितिहरुसंग डटेर लड्दै आफ्नो इष्ट प्राप्तगर्न साहसको सहाराले सम्भव हुन्छ । भनिएको पनि छ – आधायुद्ध साहसी (आँटीलो) ले नै जित्छ । आगोको रापले सुन चम्कन्छ, बीउ रोप्नाले नै वृक्ष बन्छ, एवं प्रकारले स्वस्थ रहने साहस जुटाउन सके जीवनीशक्ति बृद्धि हुँदै जानेछ ।
३. धैर्य : –
धैर्य बीना कुनैपनि कार्यका फल प्राप्त हुँदैन । कुनैपनि कार्य पूर्ण हुँनका लागि आफ्नै एउटा निर्धारित समय लाग्छ । परिणाम आएन भनेर कार्यदेखि बिचलिन हुनुहुँदैन । धैर्यपूर्वक अभ्यास गरिरहनु पर्दछ । कर्मफलको सिद्धान्त अकाट्य छ । गरेको अभ्यासबाट परिणाम निश्चित छ । जे हुन्छ शुभ–शुभ हुन्छ भन्ने विश्वास राख्नु पर्दछ ।
वर्तमान अवस्थामा धैर्यको निकै खाँचो रहेको छ । कतिपय स्थानमायहि धैर्यको कमीले ठूलो घाटा भएको अवस्था हामी सबैको अगि सर्वविदित नै छ । त्यसकारण धैर्य नगुमाई आ–आफ्नो स्थानमा सचेत र सुरक्षित रहौं ।
४. दृढनिश्चयः–
यो सम्पूर्ण सृष्टि परमात्माको इच्छा (संकल्प) “एकोऽहम् बहुस्याम्” बाट भएको बताइन्छ । यो शब्दबाट के स्पष्ट हुन्छ भने संकल्पशक्ति (दृढनिश्चय) को महत्व अत्यधिक रहेको छ । संकल्प हेर्दा निकै सूक्ष्म तर प्रचण्ड शक्तिको स्रोत हो, जसबाट विश्वमा आश्चर्य जनक कार्य सम्पन्न भएको छ । यो संकल्प गर्नुहोस् किमलाई कुनै पनि अवस्थामा नकारात्मक तत्वले प्रभाव पर्न सक्दैन । म ठिक छु, म स्वस्थ छु , म आनन्दमा छु, मलाई केहि भएको छैन भन्ने भाव मनमा राखेर दृढ निश्चय गर्नुहोस् ।
५. जनसंग परित्याग :–
यसै पनि अधिक मान्छेहरुसंग सम्पर्कमा जानु शास्त्रसम्म त पनि गलत मानिन्छ र वैज्ञानिक दृष्टिबाट पनि गलत प्रमाणित भएको छ । एक सचेत व्यक्तिले सामाजिक दूरी बनाईराख्नु पर्दछ भनिन्छ । कुनै पनि विषयमा बोध प्राप्त गर्नका लागि व्यक्तिलाई एकाग्रता, एकान्त एवं शान्ति प्राप्तिका लागि पनि जनसंग परित्याग निकै आवश्यक पर्दछ । अधिलोक सम्पर्कले धेरै मान्छेहरुसंग भेटघाट हुन्छ र त्यसै अनुसार समय, श्रम, शक्ति, साधन, आदि अधिक मात्रामा खर्च हुन्छन्, जसको कारणले गर्दा शरीरभित्रको रोग प्रतिरोधात्मक शक्ति कम हुँदै जान्छ । अधिकजन सम्पर्कमा भेटिने मान्छेहरुको विभिन्न भाव, व्यवहारहरुले चित्तमाहर्ष, शोक, सुख, दुःख, आदिभावको उत्पक्ति हुन्छ जसले मन विचलन हुने सम्भावना अधिक हुन्छ र किटाणु सर्ने सम्भावना पनि अधिक हुन्छ ।
स्वयम्का लागि स्वयम् नै उत्तम पहिचानकर्ता हो । म के हूँ ? कहाँबाट आएको हूँ । मेरो कर्तव्य के हो ? जीवनको महत्व के हो ? जस्ता प्रश्नहरुको उत्तर खोज्नु नै अहिलेको यो अवस्थाको सुन्दर सदुपयोग हुनेछ ।
यो समय उर्जा, जीवनी शक्ति बढाउने बेला हो । मनलाई एकाग्र बनाएर विषम परिस्थितिमा आफुले आफैलाई सम्हाल्ने बेला हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ८ : १५ बजे