८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बिक्री नभएपछि राहतमा केरा



कैलाली ।
कैलालीको जानकी गाउँपालिका–९ ले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो ।

“किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भने, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ ।”

वडा कार्यालयलाई केरा व्यवसायी चन्दले ३५० दर्जन केरा सहयोग गरेका छन् । व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताए ।

जानकी–९ की रेश्मा चौधरीले राहतसँगै केरा पाएकामा वडा कार्यालयलाई धन्यवाद दिइन् । “लकडाउनका कारण हामीले केरा किनेर खान पाएका छैनौँ”, रेश्माले भनिन्, “वडाले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिएको छ, खुशी लाग्यो ।”

वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ । केरा व्यवसायी चन्दले जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गरे । “खेर जानुभन्दा विपन्नको पेट भरियोस् भनी सहयोग गरेको हुँ”, व्यवसायी चन्दले भने, “केराले बजार नपाएर बारीमै सड्न थालेका छन् ।” रासस

प्रकाशित मिति : १३ बैशाख २०७७ शनिबार ००:००  ९ : १९ बजे