५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कविता–‘अटुट प्रेम’



सुवास गौतम ।

औँसिको त्यो अन्धकार चिर्दै सुन्दर बिहानी
मुस्कुराउँछ कि भनेर
दिउँसोको पारीलो घामसँग लुकामरी गर्दै
गोधूलि साँझमा सप्तरङ्गी इन्द्रेणीको रङ्ग भर्दै
रातका आकाशका ताराहरुलाई हेर्दै
घरको बार्दलीमा बसेर
जुनकीरीको धिपीधिपी उज्यालोमा
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।

जीवनमा इन्द्रधनुष झै रङ्ग भर्नलाई
ती अनगिन्ती खुसीहरू बोकेर
अनगिन्ती बैसालु रहरका खातहरू बिछ्याएर
मधुर जिन्दगीको पर्खाईमा
कल्पनाको भव्य महल बनाउँदै
तिम्रै प्रेमिल सम्झनामा सिरानीको
रुई बनाउने चाहना भरेर
यो रातमा स्वतन्त्रताको उपभोग गरेर
आज लेखिरहेछु म तिम्रै प्रेम कविता ।

जिन्दगीका यी थकित नदीहरुमा
एउटा सुकोमल विश्वासको अन्त्य भएको बेला
यो अन्धकार रातमा कुनै अज्ञात बस्तीमा
कोकाकुल तारमा रेटिएर
क्षयग्रस्त सारङ्गीहरू बेसुर बेसुर तालमा बजिरहेको बेला
रातभर बाघले लखेटेका सपनाहरू देख्नुभन्दा
तिम्रै प्रेमको भव्य महासागरमा डुबेर
तिम्रो मायालाई अमूल्य अवमूल्य बिरोधाभास
सेफबक्समा हिरामोती जस्तै राखेर
आज लेखिरहेछु म तिम्रै प्रैम कविता ।

यो रातमा लेखेको कविता कुनै भुत बङ्गालाको हुनेछैन
ती आकाशका जुन ताराको हुनेछैन
धर्तीमा चियाउने ती जुनकीरीको हुनेछैन
ती कृतिम गुलाबी फूलहरुको हुनेछैन
तिम्रै हुनेछ मात्र तिम्रै प्रेम कविता हुनेछ ।

गौतम अर्घाखाँचीको पाणिनी गाउँपालिका निवासी हुनुहुन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  २ : ०५ बजे