१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

विराटनगरबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज



विराटनगर ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट निको भएर ७ जना नेपाली र एक जना भारतीय नागरिक शुक्रबार विहान डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएकामध्ये एक महिलासहित पाँचजना उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका हुन् । २ जना भने विराटनगर महानगरपालिका– १७ का बासिन्दा हुन । एक जना भारत दिल्लीबाट आएका जमाती हुन् ।


उनीहरुको लगातार दुई पटक कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डा। संगीता मिश्राले बताइन् ।
डिस्चार्ज भएका सबैलाई ८ वैशाखमा कोरोना संक्रमण देखिएको थियो ।
निको भएकाहरुको विदाइ गर्न शुक्रबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना उपचार केन्द्रमा पुगेका थिए । संक्रमण मुक्त भएकाहरुबाट थप जोखिम हुने भएकाले १४ दिन क्वारेन्टाइनमा राखिने उनले बताए ।
बुधबार कोरोना उपचार केन्द्रबाट ६ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरुलाई विराटनगर– १५ मा रहेको रानी मर्कजमा राखिएको छ ।


यो सँगै नेपालभर कोरोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । ३० मध्ये तीनजनाको रिपोर्ट पुनः पोजेटिभ आएका कारण अस्पताल भर्ना भएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म १०१ रहेको छ ।
विराटनगरको कोरोना अस्पतालमा एक समय ३१ जना कोरोना संक्रमित भर्ना भएका थिए । अब १७ जना उपचाररत छन ।
उपचारमा रहेका सबैको अवस्था सामान्य रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डा. मिश्राले बताइन् ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  २ : १४ बजे