१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

भारतमा ५६ हजार तीन सय जनामा कोरोना, १८ सयको मृत्यु



काठमाण्डौ ।
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५६ हजार तीन सय ४२ पुगेको छ ।
सङ्क्रमितमध्ये एक हजार आठ सय ८६ जनाको ज्यान गएको छ भने १६ हजार पाँच सय ४० जना निको भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकैदिन तीन हजार तीन सय ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको राज्य हो । महाराष्ट्रमा १७ हजार नौ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ सय ९४ जनाको ज्यान गएको छ ।

गुजरातमा सात हजार १२ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार सय २५ जनाको ज्यान गएको छ भने राजधानी दिल्लीमा पाँच हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएकोमा ६६ जनाको ज्यान गएको छ । त्यस्तै तमिलनाडुमा पाँच हजार चार सय नौ जनामा सङ्क्रमण पुष्टि भएकोमा ३७ जनाको ज्यान गएको छ । राजस्थानमा तीन हजार चार सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा ९७ जनाको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार गएको २४ घण्टामा मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका ५५ गर्षीय सीआईएसएफ जवानको ज्यान गएको छ । यसबाहेक बीएसएफका अन्य दुई जवानको पनि ज्यान गएको छ । बीएसएफले आफ्ना अन्य ४१ जना कोरोनाबाट सङ्क्रमित भएको बताएको छ । योसँगै कोरोना सङ्क्रमित बीएसएफ जवानको सङ्ख्या एक सय ९३ भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ५२ बजे