१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

तराईका २१ वटै जिल्लामा कोरोना फैलियो, कर्णाली प्रदेशमा पहिलो संक्रमित फेला



काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १८ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३ सय ७५ पुगेको हो । सोमबार मात्रै ६ जिल्लामा कोरोना देखियो । जसमा बाँकेमा १२ जना, धनुषामा २ जना, गुल्मीमा १, खोटाङमा १ जना, दैलेखमा १, सुनसरीमा १ र झापामा १ जना रहेका हुन् । यससंगै दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

प्रदेश नं. ५ को बाँके नैरैनापुरमा एकै दिन ५५ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार दिउँसो ४७ जनामा कोरोना पुष्टि भएपनि राति सवा १० बजे थप ८ जना थपिएसंगै कुल संक्रमितको संख्या त्यहाँ ५५ पुगेको हो । योसंगै बाँके कोरोनाको प्रदेश ५ कै उच्च जोखिमा परेको छ ।

यस्तै दैलेखको आठबीसकोट नगरपालिकाका ३५ वर्षीय युवकमा संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा पनि कोरोना संक्रमण पुगेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको कर्णाली प्रदेशमा सोमबार संक्रमण पुष्टि भएको हो । योसँगै मुलुकका सातै वटा प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मा १७१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि प्रदेश २ मा १३३ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा ४३ जनामा संक्रमण देखिएको छ भने वाग्मती प्रदेशमा १९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सुदूरपश्चिममा ५ सबै निको भइसकेका छन् । गण्डकीमा ३ र कर्णालीमा एक जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीका एक जना पुरुषमा संक्रमण देखिएसँगै तराईका २१ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७ मंगलबार ००:००  ८ : ०३ बजे