१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कपिलवस्तुमा किट अभावः क्वारेनटाइनमा बस्ने रिसले रुष्ट, हान्न थाले स्वास्थ्यकर्मीलाई ढुङ्गा !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका स्बास्थ्य संयोजक उमेश गुप्ता नगरपालिकाले निर्माण गरेको क्वारेनटाइनमा बसेका मान्छेहरुलाई हेर्न जान हिच्किन्छन । क्वारेनटाइनको अवस्था र त्यसमा रहेका मान्छेहरुलाई हेर्न दिनहुँ उनलाई त्यहा जार्नु पर्छ । तर, क्वारेनटाइनमा जानु पर्दा उनी अप्ठेरोमा पर्ने गरेका छन । क्वारेनटाइनमा ७ दिन बिताएकाहरुलाई पिसीआरका लागि स्वाब संकलन गर्नु पर्ने नियम छ । तर क्वारेनटाइनमा २ देखि ३ हप्ता बिति सक्दा पनि किट अभावले स्वाब संकलन हुन सकेको छैन ।

क्वारेनटाइनमा गयो कि ढुंगाले हान्छ खोज्छन् स्वास्थ्य संयोजक गुप्ताले भने, ‘किट अभावले परिक्षणमा निकै ढिलाई भएको छ । अहिले क्वारेनटाइनमा जान सक्ने स्थिति नै छैन उनले भने ।’ ६ सय ३० जना क्वारेनटाइनमा रहेको नगरपालिकामा नौ जना संक्रमित भेटिएका छन । प्रदेश सरकारसंग भिटिएम किट माग गर्दा पनि उपलब्ध हुन नसके पछि अहिले नगरपालिकाले आफैले एक हजार किट किनेको उनले बताए ।

यस्तै नौ जना संक्रमित भेटिएको मायादेबी गाउँपालिमामा पनि किट अभावले परिक्षणमा ढिलाई भएको मायादेवी गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले बताए । नौ जना संक्रमित भेटिएको गाउँपालिकामा परिक्षणमा ढिलाई हुँदा क्वारेनटाइनमा रहेका ब्यक्तिहरुको दिनहुँ गाली खानु परेको उनले गुनासो गरे । ‘क्वारेनटाइनमा दिनहुँ परिक्षणका बिषयमा झगडा हुने गरेको छ, हामी निकै तनावमा छौ उनले भने ।’ क्वारेनटाइनमा २० दिन बढी बसेकाहरु समेत छन तर उनीहरुको अहिलेसम्म परिक्षण हुन सकेको छैन उनले भने, ‘क्वारेनटाइनमा बसेकाहरुको गोठाला बस्न बाध्य छौ ।’

क्वारेनटाइनमा १४ बिताई सकेकाहरुले कि आफुहरुलाई परिक्षण गरियोस नत्र घर जान दिईयोस भन्ने माग गरिरहेको यादवले बताए । परिक्षणमा ढिलाई हुँदा आफुहरु तनावमा परेको उनले गुनासो गरे । गाउँपालिकामा ६ सय ६ क्वारेनटाइनमा छन ।

उता परिक्षणमा ढिलाई हुँदा गत शुक्रवार र शनिवार गरी यशोधरा गाउँपालिका ८ खोरिया २ का क्वारेनटाइनमा रहेका ४५ जना बढी घरमा भागेका थिए । दुई दिन पछि उनीहरु सबै सम्पर्कमा आए । यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले क्वारेनटाइनमा १४ दिन बढी बिताएका मानिसहरु बढ्दै गएका छन । तर किटको अभाव देखाउदै स्वाब संकलन नगरिदा धेरै समस्या आएको बताए ।

जिल्लाको सबै भन्दा बढी १२ जना संक्रमित भेटिएका यशोधराका क्वारेनटाइनमा ९ सय ८ जना छन् । त्यसमध्ये आधा भन्दा बढीले १४ दिन बढी क्वारेनटाइनमा बिताए पनि परिक्षण नहुँदा आत्तिएको उनले बताए । ‘जसोतसो थम्मथमाएर राखेका छौ, अब अरु ढिला गरे भने झन समस्या हुने देखिन्छ उनले भने ।’

रेड जोनमा परेको कपिलवस्तुमा किटको अभाव हुँदा कोरोना परिक्षणमा ढिलाई भएपछि गाउँपालिकाका स्वास्थ्यकर्मी तनावमा छन । क्वारेनटाइनमा दिनहुँ मान्छेहरु थपिएका छन । तर उनीहरुको किट अभावले परिक्षण हुन सकेका छैन ।

पिसीआर टेस्टका लागि भिटिएम किटबाट स्वाब संकलन गर्ने गरिन्छ । तर, सिमित मात्रामा किट हुँदा क्वारेनटाइनमा बसेका ८० प्रतिशत बढीको अझै स्वाब संकलनमा ढिलाई भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । यस्तै कोरोना संक्रमितको ट्राभल हिस्ट्रि र कन्ट्याक्ट टे«सिङ पहिचान भएका ब्यक्तिको समेत स्वाब संकलन समयमै हुन सकेको छैन । सययमै परिक्षण हुँन नसक्दा स्वास्थ्यकर्मी तनावमा रहेका उनले बताए ।

१ हजार ३ सय ३ जनाको स्वाब टेस्ट भइसकेको छ । जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पिसीआर परीक्षणका लागि १ हजार ३ सय ४० भीटीएम र आरडीटी किट १ हजार १ सय ६० प्राप्त भएको छ । किट अभावले परिक्षणमा समस्या आएको बताए । आरडीटी किट सकिएको छ । किट अभाव हुँदा क्वारेनटाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन् सकेको छैन । जिल्लाका १० स्थानीय तहले १ सय ८५ स्थानमा निर्माण गरेको क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७ बुधबार ००:००  २ : ४७ बजे