रेडियो   टिभी

तौलिहवामा कोरोनाका विरामी राख्ने स्थान खोज्नै आपत, जता भन्यो त्यतै विरोध !


मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाले वडा नम्बर-३ चपरतल्ला स्थित तत्कालिन महिला तथा बालबालिका कार्यालयको भवनमा आइसोलेसन सेन्टर संचालन गर्न उपयुक्त स्थान नभएको भन्दै अन्य स्थानमा सेन्टर संचालन खडा गर्न प्रशासनसंग आग्रह गरेको छ ।

महिला तथा बालबालिकाको भवनमा १० जना पनि राख्न मुस्किल पर्ने भएकाले त्यसको सट्टा अन्य ३ स्थानमा आइसोलेसन र क्वारेनटाइन बनाउन प्रशासनलाई आग्रह गरिएको हो ।

यसभन्दा अगाडि जिल्ला प्रशासन कार्यालयले कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बनाउने निर्णय गरेपनि विरोध पछि रोकिएको थियो ।

मेयर किरण सिंहले प्रशासन कार्यालयलाई पत्राचार गर्दै त्यसको सट्टा नगरपालिका– ३ स्थित रिसाईन शान्ति बिहार वा नगरपालिका वडा नम्बर-११ रहेरामा रहेको स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर संचालन गर्दा राम्रो हुने बताए ।

यस्तै कपिलवस्तु बहुमुखी क्याम्पसमा ब्यवस्थित क्वारेनटाइन बनाउनु पर्ने उनले बताए ।

सो बिषयमा सुखरामपुरका स्थानीयबासीले समेत महिला तथा बालबालिकाकोे भवन आइसोलेसनका लागि उपयुक्त नभएको भन्दै कपिलवस्तु नगरपालिकामा ज्ञापन पत्र दिएका थिए ।

१ सय ११ जनाको हस्ताक्षर रहेको ज्ञापनपत्रमा दुई तले भवनमा कोठाको संख्या समेत कम भएकाले उपयुक्त नभएको उल्लेख गरे । सो भवन लिडो नामक संस्थाले मासिक ३० हजार भाडामा दिने गरी सम्झौता गरेको छ ।

यस्तै सो भवनमा नगरपालिकाका कर्मचारी समेत बस्ने गरेका छन । लकडाउनका बेला उनीहरुलाई पनि एकतर्फीरुपमा हटाउन नहुने स्थानीयले बताए । यस अघि प्रशासन कार्यालयले सो भवनसहित जिल्लाका बिभिन्न ५ स्थानमा गरी ढाई सय बेडको कोरोना सेन्टर संचालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस