रेडियो   टिभी

कपिलवस्तुमा पिसीआर परिक्षण पूर्व आरटिडीः ३४ सयमा परिक्षण, २ सय ५८ को पोजेटिभ


मायादेवी अनलाइन, तौलिहवा ।
कोभिड–१९ कोरोना भाइरसको आरटिडी परीक्षण गर्दा २ सय ५८ जना पोजेटिभ देखिएका छन् । शुक्रबार जिल्लाका १० पालिकाका क्वारेन्टिनमा १४ दिन बिताएका तीन हजार ४०६ जनाको आरटिडी गर्दा त्यति संख्यामा पोजेटिभ देखिएको हो । आरटिडीको गुणस्तरीय किट आए पछि अहिले जिल्लामा पिसीआर परीक्षण गर्नु पूर्व आरटिडी गर्ने गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भारतका बिभिन्न शहरबाट फर्केर क्वारेन्टिनमा बसेकाहरूको आरटिडी परिक्षणमा तिब्रता दिएको बताए । सबैभन्दा बढी मायादेवी गाउँपालिकामा सात सय ५४ जनामा आरटिडी गर्दा ६२ जना पोजेटिभ देखिएका छन् । यस्तै कृष्णनगरमा तीन सय ४९ जनाको आरटिडी गर्दा ५४ जना पोजेटिभ देखिए ।

यस्तै शुद्धोधनमा ५०९ मा ४९, महराजगंजमा पाँच सय ८९ मा ३३, शिवराजमा तीन सय ३२ मा १९ जना पोजेटिभ देखिएका छन् ।

यसैगरी यशोधरामा एक सय ८९ मा २०, कपिलवस्तुमा एक सय ४८ मा १४ बुद्धभूमिमा २ सय १८ मा ७ जनामा पोजेटिभ देखिएको छ । बाणगंगामा ५६ र बिजयगनरमा २ सय ६२ जनामा आरटिडी गर्दा सबैको नेगेटिभ देखिएको छ । शुक्रबार मात्रै नौ पालिकामा एक हजार ४३४ जनाको आरटिडी गरिएको छ ।

उता शुक्रबार भेटिएका संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा जिल्लाका तीन पालिकामा एक सय नौ जनाको स्वाब संकलन गरिएको छ । बाणगांगामा ४४, मायादेवीमा ३० र शुद्धोधनमा २९ जनाको स्वाब संकलन गरिएको प्रमुख भगतले बताए । हालसम्म जिल्लामा २ हजार १८८ जनाको स्वाब संकलन गरिएकोमा ६९ जना संक्रमित भेटिएका छन् ।

जिल्लाका १० पालिकाले तयार गरेको १ सय ९९ स्थानका क्वारेन्टिनमा रहेको १ हजार ९० बेडमा ८ हजार ६८२ जना छन् । क्वारेन्टिनमा रहेको सबै भारतबाट फर्कका हुन् ।

आरटिडी परीक्षण पोजेटिभ देखिएकाहरूको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरिने भगतले बताए । जिल्लामा स्वाब संकलनको गति बढे पनि पिसीआर परीक्षण भने सुस्त गतिमा भएको छ । पिसीआर परीक्षणका लागि भैरहवा, काठमाडौं र दाङ पठाइने गरिएपनि पाँच दिन पछि मात्र रिपोर्ट आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस